महिला सीप विकास केन्द्र, मकवानपुरले देशभर गृहिणी शिक्षा लागु गर्न तथा भ्रष्टाचार अन्त्यको लागि १० दिने सडक अभियान गर्ने भएको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै केन्द्रको अध्यक्ष रीता खनालले देशभर गृहिणी शिक्षा लागु गर्न र पछिल्लो समयमा देशमा बढी रहेको बेथिति, भ्रष्टाचार, कुशासन विरुद्ध अभियान सञ्चालन गर्न लागिएको बताइन् ।
उनले आफूहरूले यसअघि, २०६३ सालमा जिल्लाभर गृहणी शिक्षा आन्दोलन र सहकारी अभियान सञ्चालन गरेपछि तत्कालीन समयमा सरकारले वैकल्पिक शिक्षा प्रणालीको रूपमा ग्रहण गरेको बताउँदै पुनः सञ्चालन गर्न लागिएको गृहणी शिक्षा अभियान सफल हुनेमा विश्वास व्यक्त गरिन् ।
उनले महिला शिक्षालाई पुनः स्थानीय तहले लागु गर्नुपर्ने बताइन् । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खनालले जनताले थेग्नै नसक्ने अनावश्यक प्रदेश तह संविधानबाट संशोधन गर्दै तत्काल खारेज गर्नुपर्ने र आफूहरूको अबको अभियान पनि नागरिक तहसम्म पुगेर प्रदेश तह खारेज गर्न तर्फ रहने बताइन् । उनले देशको आर्थिक अवस्था श्रीलंका पथ तर्फ गइरहेको बताउँदै बेलैमा नागरिक समाज जाग्नुपर्ने बताइन् ।
‘हामीले देखिरहेका छौँ, श्रीलंकाको अवस्था । आज त्यहाँका नागरिकहरू सडकमै उत्रिएर राजापाक्षेको सरकारलाई विस्थापित गर्यो । खनालले भनिन्,आज नेपालीहरू श्रीलंका बन्नुपर्ने हो की ? रातारात सर्विया जस्तो १० औँ लाख नेपालीहरू एकाएक बाहिरिनु पर्ने हो की ? अफगानस्थानको हालत पनि देखिएको छ। ज्वलन्त चाही अहिले श्रीलंकाको देखिएको छ । त्यसैले श्रीलंका बनिसकेपछि पछाडि सडकमा उत्रिनु भन्दा श्रीलंका बन्नु भन्दा अगाडि किन नेपाली नागरिक नजाग्ने ? हामी नबोले कस्ले बोल्ने ? अहिले नबोले कहिले बोल्ने? भनेर तमाम नागरिकहरूका आवाजलाई लिएर महिला सीप विकास सडकमा छ ।’
उनले देशको कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका तीनै क्षेत्र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाइन् । उनले अभियान अन्तर्गत पहिलो चरणमा १० दिनको आन्दोलन अभियान हटौंडाबाट पर्चा वितरण सुरु गरिने बताइन् । साउन २१ गते सम्म जारी रहेन अभियानमा बजार, सडक, गाउँ, चोक चोकमा माइकिङ गर्ने, कोणसभा गर्ने, नागरिक समाजहरूसँग अन्तरक्रिया गर्ने र स्थानीयहरुलाई ध्यानाकर्षण पत्र दिने कार्यक्रम रहने अध्यक्ष खनालको भनाई छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।