प्रतिनिधिसभा र प्रदेशसभामा महिला सहभागिता बढाउन सभामुखको आग्रह

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको सहभागिता बढाउन सबै राजनीतिक दललाई आग्रह गरेका छन् ।

शासन व्यवस्था र लोकतन्त्रलाई बलियो बनाउन तथा मुलुकको बहुआयामिक विकासका लागि पनि दलहरुले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाहरुको बढीभन्दा बढी सहभागिता गराउनुपर्ने सभामुख सापकोटाको तर्क छ । 

बिहीबार काठमाडौंमा आयोजित ‘निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिले मतदातामा दलगत मतदान गर्ने अरुचि देखापरेको उल्लेख गर्दै त्यसलाई हटाउन पनि राजनीतिक दलहरुले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको अधिक प्रतिनिधित्व गराउने कुरामा जोड दिनुपर्ने बताए । 

सभामुख सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको सहभागिता बढाउन महिला सांसदहरुले पनि आ–आफ्नो दलमा सामूहिक पहलकदमी लिनुपर्ने आवश्यक्ता औँल्याए । उनले भने, ‘आधा आकाश धानेका महिलाहरुलाई समानुपातिकमा मात्र नभई प्रत्यक्ष निर्वाचनमा पनि सहभागी गराउनु पर्दछ । यसो भयो भने हाम्रो व्यवस्था बलियो हुँदै जान्छ ।’

जनताप्रति उत्तरदायी हुन पनि जनप्रतिनिधिलाई सचेत गराउँदै सभामुख सापकोटाले भने, ‘जनप्रतिनिधिहरुको जीवनस्तरमा परिवर्तन आएपनि जनताको जीवनमा खासै परिवर्तन नआएकाले उनीहरुले गरेको हरेक प्रश्नको जवाफ जनप्रतिनिधिले दिनुपर्छ ।’ 

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको सहभागिता अधिक गराउन राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण गराइन् । समाजमा विद्यमान महिलाहरुलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन ल्याउन पनि राजनीतिक दलहरुले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको अधिक सहभागिता गराउन पहल गर्नुपर्ने उनले स्पष्ट पारिन् । 



पूर्वसभामुख ओनसरी घर्तीले भोलीको पुस्तालाई राजनीतिमा आकर्षित गराउनका लागि पनि अहिले नै राजनीतिक दलहरुले महिलाहरुलाई प्रत्यक्षतर्फको निर्वाचनमा बढीभन्दा बढी सहभागिता गराउन लाग्नुपर्ने खाँचो औँल्याइन् । आरक्षण र विशेषाधिकार केही समयको लागि मात्रै भएकाले महिला नेतृत्व स्थापित गराउनका लागि महिला सांसदहरुले पनि पहलकदमी लिनुपर्ने उनले बताइन् । 

पूर्वसभामुख घर्तीले विशेषाधिकारको उपयोग गरेर महिलाहरुले आफूलाई कमजोर सावित गर्न नहुने पनि बताइन् । 



  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १७:३१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया