प्रचण्डको भारत भ्रमणबारे माओवादी नेता महतको टिप्पणी : राष्ट्रवादी बन्न खोज्दा पहिलो गाँसमै ढुंगा (भिडियाेसहित)

नेपाल कम्युनिस्ट माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण उपलब्धिमूलक हुन नसकेको बताएका छन्  । बिहीबार फरकधारसँग कुराकानी गर्दै सांसद महतले प्रचण्डको भारत भ्रमणबारे टिप्पणी गरेका हुन् । 

प्रचण्डले विमानस्थलमै भारतपछि चीनको भ्रमण हुँदै छ भनेर बोल्दा मोदी बिच्किएको सांसद महतले तर्क गरे । अध्यक्ष दाहाल भारत भ्रमणमा जाने कार्यक्रम अगाडि नै तय भएको उल्लेख गर्दै उनले सोहीबेला चीन भ्रमणबारे नबोलेको भए राम्रो हुने आशय व्यक्त गरे । 

‘हाम्रो चिनियाँ पार्टीसँग पनि राम्रो सम्बन्ध छ । चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध राम्रो देखिने, तर भारतीय जनता पार्टीसँग, कांग्रेस आइसँग हाम्रो सम्बन्ध त्यति राम्रो नदेखिने । हाम्रो पार्टीले, हाम्रो नेतृत्वले भारतीय जनता पार्टीसँग राम्रो सम्बन्ध बनाउनुपर्छ भन्ने हो,’ महतले फरकधारसँग भने, ‘तर जतिबेला चीनको कम्युनिस्ट पार्टीको नेता नेपाल आए त्यही बेला नै प्रचण्डको भारत भ्रमणको कार्यतालिका पर्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका भाजपाका नेतासँग भेट्ने कार्यक्रम तय नै भएको थियो ।’

‘तर, अध्यक्ष प्रचण्डले विमानस्थलमै मेरो भारत भ्रमणपछि चीन भ्रमण हुँदै छ भन्नुभयो । यो बोलिहाल्ने विषय होइन । यो किन भन्नुपर्यो भन्या ? उनले अगाडि थपे, ‘चीन भ्रमण हुन्छ हुँदैन कसलाई सुनाउनु परेको भन्या । यसले भारतलाई राम्रो परेको थिएन । साथै, चीनलाई पनि राम्रो परेको थिएन ।’

१९५० को सन्धिबारे प्रचण्डले दिल्लीमा बोल्दा आफैँलाई फसाद परेको सांसद महतको तर्क छ । सन्धिबारे बोल्नु सान्दर्भिक नभएको उनी बताउँछन् । सन्धिबारे अप्रसांगिक बोलेर प्रचण्डले राष्ट्रवादी बन्न खोज्दा पहिलो गाँसमै ढुंगा लागेको उनको टिप्पणी छ । ‘सन्धिको बारे यो बोल्नैपर्ने त हो । तर, कति बेला बोल्ने कहाँ बोल्ने भन्ने कुरा हुन्छ नि ! १९५० को सन्धि जानेबित्तिकै बोल्ने कुरा होइन । उहाँ राष्ट्रवादी बन्न खोज्नु त राम्रै हो, तर कति बेला बोल्ने भन्ने सन्दर्भ नै मिलेन ।’ 

प्रचण्डले कूटनीतिक ढंगले सो कुरा उठाउनुपर्नेमा हल्का रुपमा टिप्पणी गरेर त्यसको नकारात्मक असर परेको महतले बताए । उनले भने, ‘सुमधुर विस्तार गर्नुपर्ने बेलामा यी विषय बोल्नुपर्ने थिएन । उहाँ कुनै सन्धि सम्झौता गर्न त जानु भएको होइन नि ! त्यसैले मोदीले प्रचण्डलाई भेट्न चाहेनन् ।’



 



  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १९:२६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया