ब्रिटिस गोर्खाका मागबारे संसदीय समितिले परराष्ट्रमन्त्रीसँग छलफल गर्ने

संसदीय समितिले ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन, सिंगापुर (बिगेसो)को मागबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गर्ने भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले सेवा, सुविधाको समेत मारमा परेका सिंगापुरमा कार्यरत ब्रिटिस गोर्खा सैनिकहरुको मागबारे सम्बोधन गर्नका लागि परराष्ट्रमन्त्री खड्कालाई बैठकमा बोलाएर छलफल गर्ने निर्णय गरेको हो । 

सिंगापुरमा कार्यरत गोर्खा सैनिकहरुको समस्या समाधानबारे समय मिलाएर परराष्ट्रमन्त्री खड्कासँग छलफल गर्ने निर्णय गरिएको समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन् । 

बैठकमा समितिका सदस्यहरुले सिंगापुरमा कार्यरत गोर्खा सैनिकहरुको माग सम्बोधन गर्नका लागि समितिको बैठकमा परराष्ट्रमन्त्रीलाई बोलाउनुपर्ने आवश्यकताा औँल्याएका थिए । 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्षसमेत रहेका समितिका सदस्य ईश्वर पोखरेलले समितिका सदस्यहरुले मनको बह पोख्नेभन्दा पनि परराष्ट्रमन्त्रीलाई बोलाएर सो समस्याको समाधानका लागि ठोस पहल गर्न उपयुक्त हुने धारणा राखेका थिए । 

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहेका समितिका सदस्य सुरेन्द्रकुमार कार्कीले संसदीय समिति र संसदले दिएको निर्देशनसमेत सरकारले पालना गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । राजनीतिक दलहरुले परराष्ट्र नीतिका सम्बन्धमा साझा धारणा बनाएर यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई दबाब दिन ढिलाइ गर्न नहुने उनले पटक–पटक दोहार्याए ।



बैठकमा कार्कीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)मा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि सरकारले अमेरिकालाई पत्राचार नगरेको गुनासोसमेत गरे । 



  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १९:२३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया