लाखौँको संख्यामा युवा विदेश पलायन हुनुपर्ने बाध्यताले पूर्वराष्ट्रपति चिन्तित

पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशका नागरिक शिक्षित नभएसम्म राष्ट्र समृद्ध नबन्ने बताएका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ डिहीगाउँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

नवनिर्मित भोकेसनल सेन्टर बहुउद्देशीय भवनको शिलान्यास तथा जग्गा हस्तान्तरण समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले देशमा शिक्षा रोजगारमूलक, उद्देश्यमूलक भई कसरी राष्ट्र निर्माणको भावना जोड्ने भन्ने खालको हुनुपर्ने बताएका हुन्। 

‘जबसम्म शिक्षित नागरिक देशको हुँदैन, तबसम्म देश बन्दैन, आज शिक्षा त हामी दिन्छौँ, तर रोजगारमूलक, उद्देश्यमूलक तथा राष्ट्र निर्माणमा कसरी भावना जोड्ने भन्ने खालको हुनुपर्छ । यस्तो शिक्षा कसरी आफ्नो राष्ट्र बनाउने भन्ने सोच भएका व्यक्ति उत्पादन गर्ने खालको हुनुपर्छ,’ यादवले भने । उनले मुलुकको शिक्षाले राष्ट्र निर्माणको भावना जागृत गराउनुपर्ने दोहोर्याए । 

पूर्वराष्ट्रपति यादवले सीप नहुने व्यक्ति ‘अदक्ष जनशक्ति’ भएकाले लाखौँको संख्यामा विदेश पलायन हुनुपर्ने बाध्यता भएकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘आज दक्षसहित अधिकांश अदक्ष जनशक्ति विदेश पठाइरहेका छौँ, त्यस जनशक्तिलाई रोजगारमूलक बनाई राष्ट्र उत्थानमा लगाउनेतर्फ सबै क्षेत्र लागौँ ।’ 

राष्ट्र उत्थान गर्न थुप्रै गतिविधि हुनुपर्ने भएकाले आफ्नै जनशक्तिलाई व्यावसायिक शिक्षातर्फ आकर्षित गरी आफ्नै देशमा राख्नुपर्ने उनको धारणा थियो । 

यादवले फरक प्रसंगमा जसको ठूलो हृदय हुन्छ, उसले राष्ट्रको लागि केही गर्नुपर्ने बताए । ‘राष्ट्रको लागि ठूलो हृदय भएका युवाले आफ्नो देशमा केही गर्ने सोच बनाउनु सकारात्मक विषय हो, यस्ता मनले इनोभेटिभ सोच राख्दछ र काम गर्दछ,’ उनले भने । 



उनले सेन्टरले राष्ट्र उत्थानमा योगदान पुर्याउने विश्वास लिएको उल्लेख गर्दै जनप्रतिनिधिले पनि राष्ट्रको लागि नवीनतम कार्य थालनी गर्ने युवालाई हृदयदेखि नै सहयोग गर्न आग्रह गरे । 

नेपालका लागि जर्मनीका राजदूत टोमास हाइनरिस प्रिन्चले जर्मनमा स्कुले शिक्षा उत्तिर्ण गर्ने ५० प्रतिशत विद्यार्थीलाई व्यावसायिक शिक्षातिर लैजाने गरिएको बताए । उनले नवनिर्मित सेन्टरले राम्रो जनशक्ति उत्पादन गर्नेमा आफू विश्वस्त रहेको बताए । 



  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार २१:५७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया