नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४८ सालको निर्वाचनमा कांग्रेस सभापति एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएको कारण देश यो दुरावस्थामा पुगेको बताएका छन् ।
शुक्रबार बिहान काठमाडौं वडा नम्बर १० कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता सिंहले अहिले मूल्य मान्यताको राजनीति अन्त भएको र पावर बेस राजनीति अगाडि बढेकाले राजनीतिक दलप्रति निराशा बढेको उल्लेख गरे ।
२०४७ सालमा संविधान जारी गरेपछि भएको निर्वाचनमा भट्टराई पराजित भएका थिए । त्यस बेला उनलाई कांग्रेसले नै अन्तर्घात गरेर हराएको थियो ।
‘२०४६ पछिको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने प्रयास सुरु हुनै लाग्दा कृष्णप्रसाद भट्टराईलाई २०४८ को चुनाव हराउनुले मुलुक गलत बाटोमा अघि बढेर आज यो दुरावस्थामा पुगेको हो,’ उनले भने । अझै पनि प्राप्त उपलब्धिमाथि चौतर्फी प्रहार भइरहेकाले मुलुकका सामु गम्भीर चुनौती देखा परिरहेको समेत बताए ।
राजनीतिक दलहरू विधि पद्धतिभन्दा आफ्नो स्वार्थ उन्मुख भएकाले झन् चुनौती थपिएको भन्दै उनले राजनीतिक दलहरूका कार्यशैली सच्चिनु पर्ने बताए । प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।