सुगम जिल्ला कैलालीको दुर्गम गाउँ शिवरत्नपुर : मोहनाको त्रासले छटपटीमा बाँचिरहेका छन् जनता

कैलालीको कैलारी गाउँपालिका–३ पर्ने शिवरत्नपुर ९५ बढी घरधुरी छन् ।  उनीहरू शिक्षा, स्वास्थ्य सडक पूर्वाधारले वञ्चित छन् । शिवरत्नपुर गाउँको बीचमा बग्ने मोहना नदीका कारण  सडक यातायातको पहुँचबाट वञ्चित छन् । नदी तर्न दीर्घकालीन माध्यम छैन । स्थानीय गाउँपालिकामा पर्ने काम होस्, स्वास्थ्य उपचार, विद्यालय आवतजावत गर्नुपर्‍यो भने डुङ्गाको भर पर्नुपर्छ । बर्खायाममा नदीमा बाढी आए स्थानीय डुङ्गाबाट पनि नदी तर्न सक्दैनन् ।

झोलुङ्गे पुल पनि बनाइ दिए सहज हुने स्थानीयको भनाइ छ । ‘विगत तीन वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको झोलुङ्गे अझै पनि आधा जति काम पनि भइसकेको छैन ।  झोलुङ्गे पुल नागरिकको जीवनमा नयाँ आयाम ल्याउने कडी नै बन्ने थियो । तर, खई कटानले पुल निर्माणस्थल पनि बगाउने स्थिति आइसकेको छ । सरकारले केही वास्ता गरेको छैन’ स्थानीय कमलप्रसाद चौधरीले गुनासो गर्छन्, ‘राज्यको बेवास्ताले गर्दा नै यहाँका नागरिकलाई पीडा भइरहेको छ ।’

मोहना नदीले बर्सेनि आफ्नो धार फेरि रहेको छ । किसानको नम्बरी खेतीयोग्य जग्गा मोहना नदीले बगाएर, पुरेर बगर बनाएको छ । मोहना पारि भारतसँग सीमा जोडिएको यो गाउँ बर्षौँदेखि विभिन्न अधिकारबाट त वञ्चित भएको नै थियो । झन् गाउँमै बाढी पस्ने जोखिमले उनीहरूलाई झरी परेको रात र नदीमा पानीको बहाव बढेको रात निद्रा लाग्दैन ।

नदीको कटानले यसपालि पनि बस्तीको केही भाग डुबानमा परेपछि शिवरत्नपुरका १६ परिवार विस्थापित भएका छन् । यसपालिको सामान्य बर्षातमै पनि गाउँका १६ परिवार विस्थापित भएका हुन् । नदी कटान रोक्न दीर्घकालीन योजना नबन्दा बर्सेनि बर्खा लागेसँगै यो गाउँका नागरिकले खुला चौरमा बास बस्नुपर्ने बाध्यता छ ।

नदीका कारण बस्ती नै बगाउने खतरा बढेपछि सुरक्षित आवासका लागि र दीर्घकालीन रूपमा नदी कटान रोक्न ढुङ्गा तारबारसहितको तटबन्ध निर्माण गरिदिन उनीहरूले सरकारसँग माग राखेका छन् ।



‘नदीले हरेक वर्ष धार फेरिरहन्छ । कहिले कतापट्टिबाट बग्छ ?  कहिले कता ? कता कटान गर्ने हो पत्तै हुँदैन । तीन महिना श्रमदान गरेर बनाएको अस्थायी बाँध पनि नदीले बगाएर लग्यो’ स्थानीय सन्तराम चौधरीले भने, ‘अहिले टहरामा बास भएको छ ।’

उनले नदीले एकदमै समस्या गरेकोले सीमादेखि नै नदी छेउछाउमा तार जाली र ढुङ्गासहितको तटबन्धको माग गरे ।



नदी छेउछाउका घर डुबान परेपछि मैदानमा त्रिपाल टाँगेर बस्नुपरेको अर्को स्थानीय अनुजा चौधरीले बताइन् । हरेक वर्ष बर्खामा आउने बाढीका कारण सुरक्षित ठाउँ सर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

‘गत वर्षको बाढीले नदी धेरै कटान भयो, पूरै नदी कटान भएपछि गाउँमा नदी छिर्न थालिसक्यो । एक दिनको पानीले नै हाम्रो घरमा नदी पस्न थालेपछि टहरमा बास भएको हो । बाढीले खानेकुरा, लत्ताकपडा सबै भिज्यो । घर बासको व्यवस्था गरिदिए पनि हुने थियो । धेरै अप्ठेरोमा परेका छौँ ।’

शिवरत्नपुरमा ९५ बढी घरधुरीमा सयौँको संख्यामा विद्यालय पठाउनुपर्ने बालबालिका भए पनि गुणस्तरीय शिक्षाका लागि विद्यालय छैन । आधारभूत तह अर्थात् कक्षा पाँचसम्म पढाइ हुने एक विद्यालय रहेको भए पनि उक्त विद्यालयमा शिक्षकको अभाव छ ।

तीन जना शिक्षकले कक्षा पाँच कक्षासम्म अध्यापन गराउनुपर्दा गुणस्तरीय शिक्षा दिन नसकेको स्थानीय अभिभावक सिमरन चौधरीले बताइन् । त्यहाँ गाउँबाट अन्य विद्यालय जान समस्या भएकोले सोही विद्यालयलाई कक्षा १० सम्म पठनपाठन गर्ने व्यवस्था मिलाई दिए धेरै विद्यार्थीले राम्ररी सुरक्षित ढङ्गले पठनपाठन गर्न पाउने उनको भनाइ छ ।

शिवरत्नपुरबाट कक्षा पाँचपछि पढ्न हसुलियालगायतका अन्य ठाउँ जानुपर्छ । नेपाल तर्फको भागमा नदी छ । तर्न समस्या अर्कोपट्टि त भारतीय सिमाना नै भइहाल्यो । त्यहाँ किनमेल तथा स्वास्थ्य उपचारका लागि बाहेक जाने कुरै भएन ।

सोही ठाउँका कक्षा आठमा अध्ययनरत विद्यार्थी अनिल चौधरी अध्ययन गर्न हसुलिया जान्छन् । उनलाई विद्यालय जाँदा डुङ्गा तरेर विद्यालयसम्म एकदेखि डेढ घण्टा लाग्छ ।

‘बिहान सात बजे स्कुल लाग्ने बेला त कयौँ पटक विद्यालय छुटेको छ । अझ नदीमा बाढी आएको बेला पनि स्कुल जान सक्दैनौँ । विद्यालय जान सारै समस्या हुन्छ । नाउ वाला हाम्रो पैसा लिँदैनन् अरू गाउँको आए पछि पैसा लग्छन् । परीक्षाको बेला उतै साथीको घर बसेर परीक्षा दिन्छौँ । साथीको घर जाने अवस्था नभए कोठा गरेर पनि बस्छौँ’ अनिलले आफ्नो पीडा सुनाए ।

शिवरत्नपुरमा कुनै अस्पताल, स्वास्थ्य चौकी छैन । खोप केन्द्र निर्माण गरिए पनि सञ्चालनमा नआएको स्थानीयको गुनासो छ । गर्भवती महिलालाई सुत्केरी हुनेबेला कुनै अप्ठेरो समस्या पो आइपर्ने पो हो कि भन्ने त्रासले सताउँछ ।

उपचार गर्न नेपालतर्फ आउनुभन्दा भारततिर जानु सहज पर्छ । तर, कहिलेकाहीँ भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले निहुँ खोजेर बाटोमै अल्झाइदिने गरेको यहाँका स्थानीय सुनाउँछन् । नेपालतर्फ आउन त्यही मोहना नदी बाधक बनेको छ ।

शिवरत्नपुर गाउँमा नदी पसेपछि विस्थापित भएका १६ घर परिवारलाई वासस्थानका लागी तत्कालका मैदानमा त्रिपाल उपलब्ध गराउनुका साथै पानीको व्यवस्था गाउँपालिकाले गरेको गाउँपालिका अध्यक्ष राज समझ चौधरीले बताए ।

‘अहिलेका लागि त त्रिपाल पानीको व्यवस्था गरेका छौँ । तर दीर्घकालीन समाधानका लागि गाउँपालिकाको बजेटले पुग्दैन । यसमा ठूलो बजेट र नीति चाहिन्छ । यसको व्यवस्थापन प्रदेश या केन्द्रले नै गर्नुपर्छ । म पहल पनि गरिरहेको छु र दुई वटै सरकारलाई आग्रह पनि गर्दछु’ उनले भने ।

गाउँलाई सुरक्षित स्थानतर्फ सार्ने या तटबन्धबाट दीर्घकालीन समाधान के गर्ने प्रदेश र संघ सरकारसँग सहकार्य गर्ने उनको भनाइ छ ।

  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार १७:१४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया