एमालेलाई धुलिसात पार्न खोजियोः छविलाल विश्वकर्मा

एमालेको लुम्बिनी प्रदेशस्तरीय संगठन व्यवस्थापन तथा परिचालन विषयक दुई दिने कार्यशाला शुक्रबारदेखि बुटवलमा सुरु भएको छ ।

एमाले लुम्बिनी प्रदेश संगठन कमिटीले आयोजना गरेको कार्यशालामा प्रदेशका १२ वटै जिल्लाबाट पार्टीका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, इन्चार्जलगायतको सहभागिता छ । 

कार्यशालाको उद्घाटन गर्दै एमालेका सचिव छविलाल विश्वकर्माले कतिपय शक्ति र मान्छेहरु एमालेलाई धुलिसात पार्ने ढंगले अघि बढे पनि कुनै शक्तिका सामु नड्गमगाएको बताए ।

'एमालेलाई धुलिसात नपारीकन देशमा अस्थिरता ल्याउन सकिँदैन भन्ने बुझेकाहरूले एमालेलाई सिध्याउने प्रयास गरेका छन्,' उनले भने, 'तर एमालेले त्यस्ता षडयन्त्रहरूको सामना गर्दै अगाडि बढिरहेको छ ।'

चुनौतीका बीच पार्टी व्यवस्थित ढंगले यहाँसम्म आएको भन्दै सचिव विश्वकर्माले पार्टीका सबै तहका कमिटीलाई पुनः व्यवस्थित गर्दै एमाले अगाडि बढेको जानकारी दिए । गत स्थानीय तहको निर्वाचनमा सिट संख्याका आधारमा दोस्रो भए पनि लोकप्रिय मतमा पहिलो भएको उनले दाबी गरे । 

सचिव विश्वकर्माले अब संघीय र प्रदेशसभा निर्वाचनका लागि पार्टीले आन्तरिक रणनीति बनाइरहेको भन्दै पार्टीभित्रका असन्तुष्टि र अन्तरविरोधलाई समाधान गर्दै अघि बढिने जानकारी दिए । 



शनिबारसम्म चल्ने कार्यशाला गोष्ठीमा गत स्थानीय तह निर्वाचनको समीक्षा गर्नुका साथै पार्टीको आगामी रणनीति, आगामी संघीय र प्रदेशसभाको निर्वाचनको तयारी, संगठन व्यवस्थापन र परिचालनलगायतका विषयमा छलफल हुनेछ । दुईदिने कार्यशाला गोष्ठीले लुम्बिनी प्रदेशमा पार्टीको आगामी रणनीति र कार्ययोजना तय गर्ने पनि एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए ।

कार्यशालामा पार्टी सचिव विश्वकर्माका साथै एमाले संगठन विभागका प्रमुख खगराज अधिकारीलगायत केन्द्रीय नेताहरू पनि सहभागी छन् । कार्यशालाको समापन शनिबार एमाले उपाध्यक्ष विष्णु पौडेलले गर्ने एमाले लुम्बिनी प्रदेश कमिटीले जनाएको छ । 



  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार १७:३६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया