प्रचण्डले भने - तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन
फाइल तस्वीर

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् ।

शुक्रबार प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पारेका हुन् ।

सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दैन भन्ने समाचार आएको भन्दै उनले त्यसको खण्डन गरेका हुन् । उनले समाजवादी केन्द्र बनाइहाल्नका लागि आफूहरुले छलफल नगरेको उल्लेख गरे ।

अध्यक्ष दाहालले केहीले समाजवादी केन्द्र बनाउने कुरा उठाए पनि बैठकमा समाजवादी केन्द्र बनाउने गरी छलफल नभएको बताए ।

उनले भने – ‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । बन्दै छैन । हामीले समाजवादी केन्द्र बनाइहालौँ भनेर छलफल पनि गरेका छैनौँ । केही–केही साथीहरुले समाजवादी केन्द्रको कुरा उठाउनु भएको हो तर हाम्रा बैठकमा समाजवादी केन्द्र तत्काल बन्ने भन्ने कुरा भएको होइन । छैन ।'

उनले चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति बनाएर एउटै घोषणा पत्र बनाउने विषयमा छलफल चलेको बताए ।



'चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति भएर एउटै घोषणा–पत्र बनाउन सकिन्छ कि भन्ने छलफल चलेको छ । टुंगिसकेको छैन । जे भएपनि यही गठबन्धन जान्छ र हामीले यसैबाट देशमा राजनीतिक स्थायित्व र विकास ल्याउनुछ’ उनले भने ।

अध्यक्ष दाहालले वर्तमान सत्तारुढ गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म कायम रहने बताए । उनले गठबन्धनको आवश्यकता र औचित्य रहँदासम्म निर्वाचनपछि पनि गठबन्धन कायम रहने बताए । गठबन्धनबाटै शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने र नयाँ परिस्थिति बनाउने उनको भनाई छ ।



‘एउटा ऐतिहासिक आवश्यकताले, संविधानको रक्षा, राष्ट्रको रक्षा र गणतन्त्र, संघीयताको रक्षाको निम्ति यो बनेको हुनाले यो गठबन्धन अहिले कायम रहन्छ । प्रदेश, संघको निर्वाचनसम्म मात्रै होइन यसको आवश्यकता र औचित्य रहँदासम्म यो कायम रहिराख्छ, कुनै दुविधा नपाल्नु होला । अर्को बन्छ कि भन्ने खालको कहिलेकाहीँ भ्रम आउन खोज्छ, त्यो भ्रम अब मुक्त भएर यही गठबन्धनबाट जाने हो र यसैबाट शान्ति प्रक्रिया पनि टुंग्याउने हो र यसबाट नै एउटा नयाँ परिस्थिति बनाउने हो’ उनले भने ।

  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार १८:४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया