जानकी परिसर खुद्रा व्यापारीको कब्जामा, मन्दिरको आम्दानीमा महन्थको मनोमानी

विश्व सम्पदामा सूचीकरणका लागि प्रयासरत रहेको जनकपुरधामको जानकी मन्दिर अतिक्रमणको चपेटामा पर्न थालेको छ ।

मन्दिर वरिपरि फुटपाथ अतिक्रमण गरी लगाइएका स–साना पसललाई हटाएर सम्पदा क्षेत्र जोगाउने प्रयास थालेको जनकपुरधाम उपमहानगरपालिकाको कदम सराहनीय रहेको जनआवाज उठिरहेका बेला अब मन्दिर परिसर नै अतिक्रमणको चपेटामा पर्न थालेको हो ।

उपमहानगरले फुटपाथमा सञ्चालित पसल हटाउने अभियान सुरु गरेपछि फूलमाला, मिठाइ, सिन्दुर–टीका तथा चुरा पसलेले अहिले मन्दिर परिसरमै बजार लगाउन थालेका छन् ।

नगरप्रमुख मनोज साहले अतिक्रमण गरि लगाइएका फुटपाथ पसल हटाउन तत्परता देखाएको भन्दै स्थानीयबासी उनको समर्थनमा छन् । मेयर साहले मन्दिर आसपासका पसल हटाउन लगाएर फुटपाथ अतिक्रमणमुक्त गराएको दुई दिन नबित्दै हिन्दु धर्मावलम्बीको धार्मिक धरोहरको रूपमा रहेको जानकी मन्दिरलाई संरक्षण गर्नुको सट्टा स–साना व्यापारीले मन्दिर परिसर नै कब्जा गर्नु धर्ममाथि प्रहार भएको देखिन्छ ।

मन्दिर परिसरमा गत सोमबारदेखि नै बजार लगाइएको छ । खुद्रा व्यापारीले थापेको पसल तथा पूजा सामग्री बेच्ने स–साना व्यापारीको भीडले मन्दिर परिसर अस्तव्यस्त बनेको छ भने दर्शन गर्न जाने श्रद्धालुलाई झन सास्ती भोग्नु परेको छ । मन्दिर परिसर पहिलेभन्दा बढी दुर्गन्धित बनेको छ ।



विगतमा मन्दिरको चारैतिर फुटपाथ कब्जा गरेर सञ्चालन गर्दै आएका स–साना पसललाई उपमहानगरले हटाएपछि खुद्रे व्यापारी मन्दिर परिसरमै व्यापार गर्न थालेका हुन् । यता, स्थानीय एक खुद्रा व्यापारीले मन्दिर परिसरमा सुरु गरेको व्यापारमा आफूहरूलाई महन्त रामतपेश्वर दासको साथ रहेको र मन्दिरले आफूहरूसित दैनिक रुपमा पैसा लिइरहेको बताएका छन् । मन्दिरका महन्त दासले पैसा असुलिरहेको उनको दावी छ ।

जानकी मन्दिर व्यवस्थापनले मन्दिर वरिपरिका फूलमाला, मिठाइ, सिन्दुर–टीका तथा तरकारी पसलबाट दैनिक ७० देखि १ सय रुपैयाँसम्म बट्टी उठाउँदै आएको र यसका लागि मन्दिरले दीप साह खटिक नामका एक ठेकेदारलाई नियुक्त गरेको व्यापारी बताउँछन् । 



यससम्बन्धमा जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले आफूले मन्दिर परिसरमा पसल थाप्न अनुमति नदिएको बताएका छन् । उनले ती खुद्रा पसलेलाई मन्दिर परिसरबाट हट्न आग्रह गरे ।

गत बिहीबार नगरप्रमुख मनोज साह, उपप्रमुख किशोरी साहसहितका जनप्रतिनिधि र स्थानीय प्रहरी प्रशासन तथा युवा क्लबका प्रतिनिधिले सडकपेटीमा थापिएका पसल एवं यत्रतत्र राखिएका निर्माण सामग्री तीन दिनभित्र हटाउन निर्देशन दिएका थिए । तर, तीन दिनमा सडकपेटी खाली नगरेपछि सोमबार नगरप्रहरी लगाएर पसलेलाई हटाइएको थियो ।

नगरप्रमुख साहले नगरलाई सफासुग्घर बनाउन तथा सवारी दुर्घटनालाई न्यूनीकरण गर्न नगरभित्रका व्यस्त बजारको सडकपेटी खाली गराउनु आवश्यक रहेको र यस कार्यमा आफूलाई सम्पूर्ण नगरवासीको सहयोग चाहिएको बताए ।

महन्थ अर्बौं सम्पत्तिका मालिक

धनुषाको परवाहामा गरिब घरपरिवारमा जन्मेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास अहिले अर्बौंका मालिक बनेका छन् ।

जानकी मन्दिरबाट वार्षिक रूपमा उठ्ने भेटी र चढौना झण्डै २ करोडभन्दा बढी रामतपेश्वरले निजी तवरले खर्च गर्छन् । उनले निजी सम्पत्ति जस्तै जानकी मन्दिरको सम्पत्ति प्रयोग गर्दै आइरहेका छन् । जसको न कुनै आयव्यय सार्वजनिक हुन्छ, न त कुनै लेखापरीक्षण नै । 

मन्दिरको आम्दानीमा मनोमानी

जानकी मन्दिर अधिनस्त पोखरी, बजार, रामजानकी विवाह मण्डप, सांस्कृतिक संग्रहालय, फोटो ठेक्का लगायतबाट बर्सेनि १० करोड अम्दानी हुन्छ । तर, खर्चको कुने लेखाजोखा छैन् । २०५४ सालमा नियुक्त भएका रामतपेश्वर दास वैष्णव महन्थको पगडी लगाएपछि मन्दिरको श्रीसम्पत्ति आफ्नो निजी सम्पत्तिझैं प्रयोग गरिरहेका छन् । महन्त रामतपेश्वरले मनोमानी रूपले मन्दिरको सम्पति प्रयोग गरिरहेको स्थानीयको आरोप छ ।

जानकी मन्दिरको आम्दानी

– कन्या पोखरी, कपालमोचानी, महाराजसर, लक्ष्मणसर लगायत दर्जनौं पोखरीको ठेक्कावापत वार्षिक १ करोड

– रामजानकी विवाह मण्डपको ठेक्कावापत वार्षिक ३५ लाख

– बजार, फलफुल र फुटपाथ ठेक्कावापत वार्षिक २४ लाख

– सांस्कृतिक संग्रहालय ठेक्कावापत वार्षिक ३० लाख

– नटुवा नाच ठेक्कावापत वार्षिक १६ लाख

– रामजानकी विवाह मण्डप, सिडि स्टाँल र फोटो ठेक्कावापत वार्षिक १४ लाख

– जानकी मन्दिर फोटो खिचाई ठेक्कावापत वार्षिक ९ लाख

– जानकी मन्दिर परिसर प्रसाद सटर ३ थान ठेक्कावापत वार्षिक १८ लाख

– लक्ष्मण मन्दिरसँगै रहेको सटर भाडावापत वार्षिक २५ लाख

– एभरेष्ट बैंकको एटिएमबाट वार्षिक ५ लाख   

– सुनैना आर्ट ग्यालरीबाट वार्षिक ३ लाख

  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार १९:१७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया