नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति उद्योगी व्यवसायीको लागि सहज नभएको बताएका छन् ।
शुक्रबार २८ औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्ड एशोसिएशन (नेफा) ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । उनले वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने मौद्रिक नीति कसिलो आएकाले व्यवसायीका लागि सहज नभएको बताए ।
अध्यक्ष गोल्छाले मौद्रिक नीतिले बैंकको ब्याजदर उच्च वृद्धि तथा तरलता अभावलाई अझ बढाउने बताए । उनले राष्ट्र बैंकको कसिलो मौद्रिक नीति छोटो समयको लागि मात्रै रहने निजी क्षेत्रले विश्वास गरेको उल्लेख गरे ।
उनले भने ‘अहिलेको समस्यालाई पार लगाउनको लागि भर्खरै नयाँ मौद्रिक नीति आएको छ । मौद्रिक नीति कसिलो भएको छ । मौद्रिक नीति हामी उद्योगी व्यवसायीहरुको लागि सहज हुँदैन । मौद्रिक नीतिले अहिलको भन्दा अझ बढी बैंकिङ ब्याजदरलाई वृद्धि गर्छ । बजारमा विद्यमान रहेको तरलता अभावलाई बढाउँछ ।'
अध्यक्ष गोल्छाले मौद्रिक नीतिले व्यवसायीलाई सहज नभए पनि औधोगिक उत्पादनको लागि बैंक ब्याजदरमा छुट दिने व्यवस्था उत्साहजनक रहेको बताए । उनले अहिले अर्थतन्त्रमा देखिएका समस्या पनि धेरै लामो समयसम्म नरहने दाबी गरे ।
गोल्छाले आगामी वर्ष ५ प्रतिशतले रेमिट्यान्स बढ्न सके व्यापार घाटा, भुक्तानी सन्तुलन वा शोधानान्तर स्थितिमा सुधार आउने बताउनु भयो । उनले पछिल्लो ६ महिनामा मात्रै २३० प्रतिशत नेपाली श्रमिक विदेश गइरहेकाले रेमिट्यान्स बढ्नसक्ने बताए ।
अध्यक्ष गोल्छाले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा वस्तुहरुको मूल्य घट्दै आएकाले नेपालको व्यापार घाटा कम हुने विश्वास रहेको उल्लेख गरे । उनले पछिल्लो ६ महिनाको तथ्याङ्क हेर्दा नेपालमा विदेशी लगानी ७ प्रतिशतले बढेको बताए ।
गोल्छाले कोरोना महामारीको बेला शुन्यमा आएको पर्यटन व्यवसाय अहिले चलायमान भएको भन्दै भिजिट नेपाल २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य अबको एक दुई वर्षमा पूरा हुने बताए ।
अध्यक्ष गोल्छाले पछिल्लो समय नेपालको निर्यात उत्साहजन रुपमा बढेको बताए । उनले विद्युत, सिमेन्ट र फलाम जस्ता सामान निर्यात शुरु हुनु अर्थतन्त्र सुधारको सकारात्मक संकेत रहेको बताए ।
गोल्छाले पछिल्लो समय विश्व बैंक, एशियाली विकास बैंकहरुले नेपालको विकास निर्माणमा लगानी प्रतिवद्धता बढ्दै गएकाले अहिले देखिएको अर्थतन्त्रको समस्या क्रमश सुधार हुने देखिएको बताए । उनले अर्थतन्त्रमा देखिने समस्या दीर्घकालिन रुपमा समाधान गर्नको लागि मुलुकमा उत्पादन बढाएर निर्यात बढाउने र उत्पादनमा लाग्ने कस्ट अफ डुइङ बिजनेस घटाउनु पर्ने बताए ।
अध्यक्ष गोल्छाले राष्ट्रिय उत्पादन बढाउन र उत्पादनमा लाग्ने लागत कम गर्न सकेनौं भने अर्थतन्त्रमा अहिले देखिएका समस्या बारम्बारदेखि रहने दाबी गरे । उनले सरकारले बनाएका हेरक सुख्खा बन्दरगाहहरुमा रेल्वे सेवा जडान नभएसम्म बन्दरगाहको कुनै अर्थ नभएको बताए ।
अध्यक्ष गोल्छाले देशैभर बन्ने बन्दरगाहमा रेल्वे सेवा र लजिष्ट्रिक लागत घटाउन नसकेसम्म औद्योगिक उत्पादन पनि बढ्न नसक्ने दाबी गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।