हेटौंडामा विद्यार्थीको दिवा खाजाको रकममा अनियमितताको आशंका, उपमहानगरपालिका भन्छ - लापरबाही छैन
फाइल तस्बिर

नेपाल सरकारबाट सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गर्ने सबै विद्यार्थीहरूका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ । वार्षिक रूपमा करिब ९ अर्ब खर्चको हुने यो कार्यक्रमबाट बालबालिकाको वृद्धि र विकासमा सहयोग गर्ने र विद्यालय शिक्षामा भर्ना दर अभिवृद्धि हुने, विद्यालय छाड्ने दर घट्ने, र सिकाइ उपलब्धि बढ्ने विश्वास गरेर नेपाल सरकारले आ. व. २०७७/२०७८ देखि देशभरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने प्रारम्भिक बाल विकासदेखि पाँच कक्षासम्मका सबै विद्यार्थीका लागि दिवा खाजा व्यवस्थापन गर्न बजेट विनियोजन गर्दै आइरहेको छ ।

यसै अनुरूप, मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरूमा पनि दिवा खाजा कार्यक्रम लागू भइरहेको छ । तर, विद्यार्थीलाई स्वच्छ खाजाको व्यवस्थापन गर्न संघीय सरकारको सशर्त अनुदानमा उपलब्ध गराएको बजेटमा चलखेल भएको पाइएको छ । उपमहानगरपालिकाले हप्ताको ६ दिनकै हाजिरी माग्ने सोही अनुसारको रकम विद्यालयलाई माग गर्न लगाएर शुक्रबार खाजा नखुवाएको रकम कटाएर मात्रै उपलब्ध गराउने गरेको खुलेको हो । खाजा खुवाए पनि नखुवाए पनि भुक्तानी माग गर्ने, नखुवाएका विद्यालयले पनि शुक्रबारको समेत बिल पेस गर्ने तथा विद्यालयलाई हाजिरी अनुसारको बिल पेस गर्न लगाएर रकम काटेर मात्रै विद्यालयलाई उपलब्ध गराउने जस्ता अनियमितता भएको पाइएको हो ।  

हेटौंडा ११ मा रहको त्रिभुवन माध्यमिक विद्यालयमा शुक्रबार पनि नियमित रूपमा खाजा खुवाउने गरेको विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीले बताए । शुक्रबार पनि १ बजेसम्म पढाउने र त्यसपछिको समय खेल खेलाउने तथा सृजनात्मक क्रियाकलापमा सहभागी गराएर मनोरञ्जन दिने गरेको बताउँदै उनले भने, ‘माथिबाट नै शुक्रबार पनि खाजा खुवाउनु भन्ने आदेश छ । त्यसैअनुरुप खाजा खुवाउने गरेका छौँ । कक्षा ५ सम्मका प्रति विद्यार्थी १५ रुपैयाँको दरले नगरपालिकाले भुक्तानी दिने गरेको छ ।’ 

यता, हेटौंडा ७ कमानेमा रहेको नवज्योति माध्यमिक विद्यालयले गत असार २० गते भन्दा पछाडि दिवा खाजा बापतको ४९ हजार रुपैयाँको भुक्तानी माग हेटौंडा उपमहानगरपालिकामा पठायो । उक्त भुक्तानी मागको निवेदन ढिलो पेस गरिएको भन्दै शिक्षा विकास महाशाखाले पैसा आउन पनि सक्ने नआउन पनि सक्ने जवाफ दियो । विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र दाहालले निवेदन महाशाखामै छोडेर फर्किए । अन्ततः केही दिन पछि रकम खातामा आयो । तर विद्यार्थीको हाजिर अनुसारको खाजा खर्च पठाएकोमा ४/५ हजार रुपैयाँ कम आएको प्राध्यापक दाहालले बताए । 

आफूहरूले शुक्रबारको दिनमा दिवा खाजा दिने नगरेकोमा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले नै हाजिर भएको सबै दिनको फोटोकपी मागेको कारण आफूहरूले पेस गर्ने गरेको बताए । ‘खाजा खाएको हाजिर गर्ने गरेका छैनौँ । विद्यालयको उपस्थितिको हाजिर नै पेस गर्ने हो ।’ उनले भने, ‘हामीले खाजा खुवाए पनि पेस गरेका छौँ । तर पैसा आउँदा भने काटिएर नै आएको जस्तो लाग्छ । हाम्रो विद्यालयले ९० देखि सय जना को १५ रुपैयाँको दरले ४९ हजारको बिल पठाएकोमा पैसा सबै आएको छैन । शुक्रबारको काटिएको होला ।’

उनी गत कार्तिकदेखि विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीमा रहेका छन् । यस अघि विद्यालयका प्राध्यापकमा जीवराज ढकाल थिए । उनको कार्यकालमा पनि शुक्रबार दिवा खाजा नदिने गरेको उक्त विद्यालयका शिक्षकहरूले बताए । विद्यालयबाट बिल पेस गर्न लगाउने तर विद्यालयलाई भुक्तानी उपलब्ध गराउँदा कटाएर पठाउने गरेको प्राध्यापक दाहालको दाबी छ । 



गत आर्थिक वर्ष २०७८/०७९ मा हेटौंडा उपमहानगरपालिकाका ७६ वटा सामुदायिक विद्यालयका बाल विकास कक्षा देखि ५ सम्मका बालबालिकाहरूलाई खाजा खुवाउनको लागि संघीय सरकारले २ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये २ करोड २७ लाख ७१ हजार तीन सय रुपैयाँ खर्च भएको उपमहानगरपालिकाका आधारभूत शिक्षा शाखा प्रमुख रामचन्द्र खड्काले जानकारी दिए । दिवा खाजाको लागि हेटौंडाका सामुदायिक विद्यालयहरूले शुक्रबारको दिन सबै विद्यालयमा खाजा खुवाउने नगरिएको तर बिल पेस गर्दै भुक्तानी लिने गरेको खड्का बताउँछन् । ‘केही विद्यालयमा मात्रै खाजा खुवाउने गरेको भन्न सुन्नमा आएको छ । तर प्रायः सबै विद्यालयहरूले शुक्रबार पनि खाजा खुवाएको भन्दै बिल पेस गरेका छन्,’ खड्काले भने । 

यता उपमहानगरपालिकाका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमाल अरू स्थानीय तहमा यस विषयमा लापरबाही भएको हल्ला भए पनि हेटौंडाको हकमा त्यस्तो नभएको बताउँछन् । ‘हाजिरमा जतिको उपस्थिति छ, त्यतिकै भुक्तानी दिने गरेका छौँ । शुक्रबार खाजा खुवाए खुवाएनन् त्यो हामीलाई थाहा छैन,’ शाखा प्रमुख रिमालले भने । अन्य स्थानीय तहमा जसरी चलखेल नभएको दाबी छ । 



  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार १०:१९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया