मन्त्री श्रेष्ठले भने - फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन दिएन
फाइल तस्बिर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको बताएका छन् । शनिबार काठमाडौंको वंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले फोहोरमैला सामान्य कुरा भएपनि फोहोरमैला भित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेको बताए । उनले स्थानीय तहले नै अब फोहरमैलालाई श्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने बताए । मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा संघीय सरकार सहयोगका लागि तयार रहेको बताए  । 

‘फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको छ । सामान्य कुरा हो तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौँ । फोहोरमैला भित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन । फोहोरमैला समाधान गर्नको लागि ठूलो कुरा होइन, ठूलो कुरा बनाइएको छ । त्यहाँ भित्रको गिरोहले । यो समस्या स्थानीय तहले फोहोरमैलालाई श्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ जानुपर्छ,’ उनले भने - ‘हामी सबै त्यसको लागि सहयोग गर्न तयार छौँ । हामी मठमन्दिरहरुमा सरसफाई गर्न राष्ट्रिय अभियान शुरु गर्दैछौं । त्यहाँबाट नै चेतनाको अभियान शुरु हुनेछ । यी योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय गरेर कामहरु लैजान्छौँ । नाइट टुरिजमको कुरा गरिरहँदा पर्यटकहरुलाई घुमाउने कुरा गर्दा त्यो किसिमको स्थानीय वातावरण तयार गर्नुपर्छ । सरसफाई र हाम्रा सम्पदालाई सुन्दर र संरक्षित बनाउँदै सुरक्षित बनाउन आवश्यक छ ।’

मन्त्री श्रेष्ठले कतिपय नागरिकलाई प्रदेश र स्थानीय सरकार बलियो छ भन्ने कुरा अहिलेसम्म पनि बुझाउन नसकेको बताए । उनले सिंहदरबारबाट स्थानीय र प्रदेशमा अधिकार सरिसकेको कुरा नागरिकमा बुझाउन आवश्यक रहेको बताए । 





  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार १२:४५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया