जानकी मन्दिरका सहायक महन्त दासविरुद्ध उजुरी, कागजात कीर्ते गरेको आरोप
दास भन्छन् - गलत हल्ला फैलाइयो

सरकारी कागजात कीर्ते गरी नक्कली परिचयपत्र बनाएको आरोप लगाउँदै जानकी मन्दिरका सहायक महन्त रामरोशन दासविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको छ । दासले सरकारी कागजात कीर्ते गरी नक्कली परिचयपत्र बनाएर मन्दिरको श्रीसम्पत्ति हिनामिना गरेको भन्दै उजुरी परेको हो ।

जनकपुरधाम उपमहानगरपालिका–२३ बस्ने वैजनाथ चौधरीले गुठी संस्थान प्रधान कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, जिल्ला प्रहरी कार्यालय र गुठी तथा तहशील कार्यालयलाई बोद्धार्थ गरी साउन ४ गते नै निवेदन दिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

उनले भने, ‘सहायक महन्थ दासले सरकारी कागजको रूपमा आफ्नो नाममा मन्दिरको उत्तराधिकारी महन्तको किर्ते परिचयपत्र बनाई गुठी संस्थानको पनि किर्ते छाप लगाएको निवेदनमा आरोप लगाइएको छ ।’

निवेदन आए पनि त्यसमाथि छानबिन कहाँसम्म पुगेको बारे आफूलाई कुनै जानकारी नरहेको सहायक प्रजिअ भण्डारीले बताए ।

यता, सहायक महन्थ दासले जानकी मन्दिरमा डेढ वर्षअघि नै गुठी संस्थानले आफूलाई बोडैको बैठकबाटै औपचारिक रुपमा उत्तराधिकारी महन्थ नियुक्त गरेको दाबी गरेका छन् । उनले जानकी मन्दिरमा सुरुदेखि नै गुरु शिष्य परम्परा रहेको र सोही आधारमा महन्थ रामतपेश्वर दास वैष्णवले पनि आफूलाई उत्तराधिकारी महन्थ घोषणा गरिसकेको बताए ।



उनले भने, ‘महन्थजीले पनि मबाहेक उनको अर्को कुनै उत्तराधिकारी नरहेको कुरा सञ्चारकर्मीहरु समक्ष नै बताइसकेका छन् । यस्तो अवस्थामा मैले किर्ते कागजात बनाएको भन्ने हल्ला कहाँबाट फैलाइयो । यो सरासर गलत हो । म आफैं आश्चर्यचकित छु ।’



  • प्रकाशित मिति : साउन १४, २०७९ शनिबार १७:४२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया