साफ यू-२० च्याम्पियनसिपमा भारतको सामना गर्दै नेपाल, एक खेल अगावै फाइनल पुग्ने मौका

साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आज घरेलु टोली भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा राति सवा ७ बजे सुरु हुनेछ । 

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल भारतलाई हराउँदै एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । यसअघि नेपालले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले हराएको थियो । साविक विजेता भारत पनि नेपाललाई स्तब्ध पार्दै फाइनल सम्भावना जीवितै राख्ने लक्ष्यमा छ । 

यसअघि बंगलादेशसँग २–१ को पराजय बेहोरेको भारतले श्रीलंकालाई ४–० ले हराएको थियो । उमेर समूहको साफमा हालसम्म भारत र नेपालले दुईपटक एकअर्काको सामना गरेका छन् । जसमा दुवै खेलमा नेपालले भारतलाई हराएको छ । 

यस्तो छ हालसम्म साफमा दुवै टोलीको प्रदर्शन

सन् २०१५ मा साफ यू–१९ को नाममा घरेलु मैदानमै आयोजना भएको प्रतियोगिताको पहिलो संस्करणको उपाधि नेपालले जित्यो । नेपालले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै उपाधि जितेको हो । समूह चरणमा भुटानलाई ३–१ र बंगलादेशलाई २–१ ले हराएको नेपालले सेमिफाइनलमा अफगानिस्तानलाई ३–२ ले पराजित गर्‍यो ।

सन् २०१८ मा यो प्रतियोगिता साफ यू–१८ को नामले भुटानमा आयोजना गरियो । यो पटक पनि विजेता बन्दै नेपालले उपाधि रक्षा गर्यो । सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन गरिएको प्रतियोगितामा नेपालले माल्दिभ्स र भारतलाई समान २–० तथा बंगलादेशलाई २–१ ले पराजित गर्न सफल भयो । भुटानसँग भने नेपाल १–० पराजित भयो । बंगलादेशसँग समान नौ अंक रहे पनि नेपाल ‘हेड टु हेड’ को आधारमा शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो ।



सन् २०१९ मा पनि यो प्रतियोगिता साफ यू–१८ कै नामले आयोजना गरियो । नेपालमै आयोजना भएको यो संस्करणको उपाधि भने भारतले जित्यो । भारतले फाइनलमा बंगलादेशलाई २–१ ले हराउँदै उपाधि जितेको हो । दुई संस्करणको विजेता नेपालले भने घरेलु मैदानमा समूह चरणसमेत पार गर्न सकेन । समूह ‘ए’ मा रहेको नेपालले माल्दिभ्ससँग १–१ को बराबरी खेल्दा भुटानसँग ३–० को फराकिलो हार बेहोर्‍यो । 

साविक विजेता भारत उमेर समूहको साफको पहिलो संस्करणमा उपविजेता बनेको थियो । उक्त संस्करणको समूह ‘बी’ मा रहेको भारतले समूह चरणमा अफगानिस्तानलाई २–० र माल्दिभ्सलाई ३–० ले पराजित गर्‍यो । सेमिफाइनलमा बंगलादेशलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै फाइनल प्रवेश गरेको भारत नेपालसँग पेनाल्टी सुटआउटमै ४–५ ले पराजित हुँदै उपाधि जित्न चुक्यो ।



सिंगल राउण्ड रोबिन आधारमा सञ्चालित प्रतियोगिताको दोस्रो संस्करणमा भारत तेस्रो स्थानमा खुम्चियो । उसले भुटानलाई ३–० र माल्दिभ्सलाई २–१ ले हराउँदा बंगलादेशसँग ४–३ र नेपालसँग २–० को पराजय बेहोर्‍यो । तेस्रो संस्करणको उपाधि भने भारतले उचाल्यो ।

भारतले समूह चरणमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दा श्रीलंकालाई ३–० ले हरायो । उसले सेमिफाइनलमा माल्दिभ्सलाई ४–० र फाइनलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै पहिलोपटक उमेर समूहको साफ उपाधि उचाल्यो ।  

  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार ७:१३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया