सिके राउतदेखि कुलमानसम्म किन जाँदैछन् ओशो तपोवन ?

काठमाडौंको बालाजु चोकबाट करिब ६ किलोमिटर उत्तर जंगलैजंगलको बाटो लागेपछि नागार्जुन हिलमा ‘ओशो तपोवन’ आउँछ । यसलाई ‘इन्टरनेसनल कम्युन’ पनि भन्ने गरिएको छ । 

गेटमा ठूलो अक्षरमा नेपालीमा ‘ओशो तपोवन’ र अंग्रेजीमा ‘इन्टरनेसनल कम्युन’ लेखिएको छ । गेटको छेउमा एउटा सूचना छ । लेखिएको छ– ‘आश्रम क्षेत्रभित्र धूमपान, मद्यपान, ननभेज निषेधित छ । आश्रम परिसर स्वच्छ, पवित्र र शान्त राख्न अनुरोध छ । आश्रम क्षेत्रभित्रका बोटबिरुवा, चराचुरुंगी, फलफूलप्रति समादर राख्न अनुरोध छ ।’

तपोवनभित्र उनीहरूको आफ्नै ड्रेसकोड छ । उक्त ड्रसकोडलाई  ‘ह्वाइट रोब’ र ‘रेड रोब’ भन्छन् । अधिकांश समय मानिसहरू रेड रोब, अर्थात् मरुन कलरको गाउनमा बस्छन् । बेलुका आरतीको समयमा भने सेतो गाउन लगाउने चलन छ । 

१२ साउनमा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउत काठमाडौंको ओशो तपोवन आश्रम पुगेर ‘सन्न्यास’ लिए । तपोवनका संस्थापक स्वामी आनन्द अरुणले मन्त्र प्रदान गर्दै उनलाई ‘सन्न्यासी’ बनाएका हुन् । डा. राउत एक साताअघि तपोवन पुगेका थिए । 

नौ दिनसम्म ध्यानमा बसेपछि उनी सन्न्यासका लागि योग्य बने । यस सम्प्रदायभित्र संन्न्यासलाई समाजबाट स्वतन्त्र हुनु भन्ने बुझिन्छ । ‘स’ ले समाजलाई र ‘न्यास’ ले स्वतन्त्रतालाई जनाउँछ । यद्यपि, सन्न्यास लिएकाहरूले घरपरिवार छोडेर बस्नुपर्दैन । 

ओशो तपोवनमा ध्यान बस्नेहरूमध्ये थोरैले मात्रै संन्न्यास प्राप्त गर्ने गरेका छन् । ध्यानका माध्यमबाट आफ्नो विचारलाई नियन्त्रण गर्नसक्ने, सही आचरणमा बस्न सक्ने तथा सांसारिक सुखबाट मुक्त रहन सक्नेहरू सन्न्यासका लागि योग्य ठहरिन्छन् । यही योग्यता प्रस्तुत गरेर डा. राउत सन्न्यासी बनेका हुन् ।



सन्न्यास लिनेहरूलाई स्वामी आनन्द अरुणले विशेष प्रकारको ओशोको तस्बिर अंकित लकेटसहितको माला र नयाँ नामसमेत प्रदान गर्छन् । संन्यासी बनेका राउतको नयाँ नाम ‘आनन्द मैत्रय’ रहने भएको छ । 

राउत तपोवन पुगेलगत्तै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि शुक्रबार ओशो तपोवन पुगेका छन् । तपोवनमा उनले २६ घण्टा बिताए । यो अवधिमा मोबाइलसमेत नछोइकन उनले एउटा अनुशासित विद्यार्थीका रूपमा आफ्नो कोर्स पूरा गरे । तपोवनमा रहँदा अरू सहभागीसँगै कुलमान नाचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।



शुक्रबार कार्यालय समयपछि ३ बजे प्राधिकरणका १५ जना कर्मचारीसमेत लिएर तपोवनमा पुगेका कुलमान शनिबार बेलुकी साढे ६ बजेतिर फर्किए । उनीजस्तै बेफुसर्दी भिभिआईपीका लागि डिजाइन गरिएको ‘तपोवन फर नेशन’ नामक कोर्समा कुलमानले भाग लिएका थिए । एनआरएनका पूर्वअध्यक्ष भवन भट्टले डिजाइन गरेको यो कोर्स हरेक महिनामा एकपटक आयोजना गरिन्छ । भट्ट, निराजन भण्डारी, शोमिता सिम्खडा र आनन्द अरुणले यो कोर्स गराउँछन् । 

सन्न्यास प्राप्त गर्नेहरूलाई ओशोका अनुयायीहरूले अत्यधिक सम्मान गर्छन् । उनीहरूले आफ्नो नामअघि स्वामी लेख्न सक्छन् भने प्रायः सेतो र गेरुवा वस्त्र लगाउने गर्छन् । सिके राउतले पनि आफ्नो नयाँ नामअघि स्वामी लेख्न सक्नेछन् । तपोवनका संस्थापक स्वामी आनन्द अरुणबाट अध्यक्ष राउतले सन्न्यास लिएका हुन् । एक साता अगाडिदेखि तपोवनमा रहेका उनी सन्न्यास लिएपछि माला र नयाँ नाम प्राप्त गरेको बताइएको छ ।

राउतले लामो प्रतीक्षापछि गुरुजीको सानिध्यता प्राप्त गर्ने अवसर पाएको उल्लेख गरे । आश्रममा बस्दा धेरै कुरा जान्ने अवसर पाएको भन्दै उनले खुसीसमेत व्यक्त गरेका थिए । 

कति लाग्छ खर्च? 

ओशो तपोवनमा समयसमयमा विभिन्न अवधिका ध्यान शिविर सञ्चालन हुन्छन् । २४ साउनबाट ‘नो म्यान ध्यान शिविर’ सञ्चालन भइरहेको तपोवनकी एक प्रतिनिधिले बताइन् । उनका अनुसार खाना बस्न गरेर प्रतिव्यक्ति सामान्य रुमको प्रतिदिनको ११ सय मूल्य निर्धारण गरिएको छ । 

डबल रुममा दिनको २ हजार रुपैयाँ खर्च लाग्छ । विभिन्न समयमा सञ्चालन हुने शिविर कम्तिमा ५ दिनका लागि र अधिकतम सात दिनसम्म हुन्छन् । यो शिविरमा जो कोही पनि समावेश हुनसक्ने उनले बताइन् ।

योबाहेक समूहमा आउने तथा कार्यालयका लागि ‘तपोवन फर नेशन’ नामक प्याकेज बनाएको छ, जसको मूल्य सहभागी हुने व्यक्तिको संख्याका आधारमा निर्धारण गरिन्छ ।  ‘तपोवन फर नेशन’ को अवधि तीन दिनको हुन्छ । 

यो प्याकेज बेफुसर्दी भिभिआईपीका लागि डिजाइन गरिएको हो । हालै ‘तपोवन फर नेशन’ नामक कोर्समा कुलमानसहित विद्युत् प्राधिकरणका १५ जना कर्मचारीले भाग लिएका थिए ।

  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार १४:१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया