कसले चलाउँदै छ पूर्वप्रधानमन्त्रीहरूविरुद्ध ‘नो नट अगेन’ अभियान ?

पछिल्लो समय सामाजिक सञ्जालमा ‘पूर्वप्रधानमन्त्रीलाई बिदा गरौं’ भन्ने आशयका अभिव्यक्ति सार्वजनिक भइरहेका छन् ।

सामाजिक सञ्जालमा अहिले ६ जना पूर्वप्रधानमन्त्रीहरूको तस्वीर शेयर गर्दै यो अभियान चलाइएको हो । संघीय निर्वाचन नजिकिएसँगै फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा ‘नो नट अगेन’ अभियानका पोस्टहरू बाक्लिन थालेका छन् ।

यसअघि प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, केपी शर्मा ओली, झलनाथ खनाल र बाबुराम भट्टराईको तस्वीर राख्दै पोस्टमा ‘अहिलेसम्म जेजति गर्नुभयो, धन्यवाद । अब पुग्यो’ भन्ने क्याप्सन लेखिने गरिएको छ । तस्बिरमुनि थप लेखेको देखिन्छ, ‘अब पालो अरु कसैको । निर्वाचन ०७९ मा ससम्मान बिदाबारी ।’

उक्त अभियानलाई लक्षित गर्दै दुई प्रमुख पार्टीका शीर्ष नेताले अभिव्यक्तिसमेत दिएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कार्यकर्तालाई सचेत गराउँदै उक्त अभियानको खण्डन गर्न आग्रह नै गरेका छन् ।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीले युवाको पालो अझै नआएको टिप्पणी गरेका छन् ।



नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार काठमाडौंमा पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा एकथरि मान्छेहरूले बुढाहरू चाहिँदैन, प्रौढहरू चाहिँदैन भनेर समाज भत्काउन खोजिएको उल्लेख गरे ।

‘यो समाज भत्काउने विचार हो, समाज बनाउने विचार होइन’ उनले भने, ‘समाज बनाउन युवा, प्रौढ, वृद्धवृद्धाहरू पनि चाहिन्छ । सबैको उचित समायोजन गरेर मात्र राजीनीति, समाज र राष्ट्र चल्न सक्छ ।’



प्रचण्डले परिवर्तन नरुचाउनेहरूले अनेक बहानामा वृद्ध नेताहरूलाई निषेध गर्न खोजेको आरोप लगाए ।

‘परिवर्तन नरुचाउनेहरूले कहिले युवा, कहिले वृद्धलाई कहिले नेताहरूलाई निषेध गर्न खोजेर समाज भत्काउने, परिवर्तन भत्काउने कोशिस भएका छन्’ उनले भने ।

नेतालाई गाली गरेर समाज भत्काउने संस्कारलाई तर्कसंगत प्रतिवद गर्नुपर्ने प्रचण्डले बताए । यता एमालेका अध्यक्ष ओलीले पार्टीमा युवाले पद माग्ने बेला अझै आएको छैन भन्ने अभिव्यक्ति दिए । पार्टीमा युवाले पद माग्नु गलत संस्कार भएको ओलीको तर्क थियो ।

शनिबार पार्टीको युवा संगठन राष्ट्रिय युवा संघको कार्यक्रममा उनले यस्तो बताएका थिए । युवाका कारण अथवा युवालाई पद चाहिएका कारण कमिटी ठूलो बनाउनुपर्यो भने त्यो राम्रो नहुनेसमेत बताएका थिए ।

सोसल मिडियामा भाइरल हुँदै गरेको पूर्वप्रधानमन्त्रीलाई रोकौँ अपिल कहाँबाट चलिरहेको छ भनेर चाँसोको विषय बनेको छ ।

कतिपयको अनुमान छ - स्थानीय चुनावमा काठमाडौं मेयरमा बालेन शाहलाई जिताउन लाग्ने समूह नै यस अभियानमा सामेल छ । कतिपयले रवि लामिछानेदेखि अरनिको पाँडेसम्मले यो अभियानमा जोड बल गरेका आकलन गर्छन् ।

यद्यपि, हामीले ‘नो नट अगेन’को फेसबुक पेजमा अन्तरक्रिया गर्दा यो स्वतन्त्र अभियान भएको प्रतिक्रिया आएको छ । यसको सुरुआत गर्ने र सञ्चालन गर्ने अभियान्ता अहिले देशैभरी छरिएर रहेको भन्ने जवाफ आएको छ । यसको सुरुआत र नेतृत्व गर्ने को हुन् भन्ने प्रश्नमा समय आएपछि बताउने जवाफ आएको छ ।

तपाईंहरू संघ र प्रदेशको चुनावमा उम्मेदवार बन्न चाहनु हुन्छ भन्ने प्रश्नको जवाफमा आउँछ ‘हामी निर्वाचनमा उमेदवार बन्ने वा नबन्नेबारे अहिले नै केही निर्णय गरिसकेको छैनौँ । तर, हामी मान्दछौँ एउटा सामाजिक जागरण खाँचो छ । एउटा यस्तो सामाजिक जागरण जहाँ विचार, अर्थ र शिक्षाको राजनीति होस् । परराष्ट्र र कृषिको परिवर्तनको खाका होस् । उही कुर्चीमा बस्ने र आदेश दिने हैकमी शैली नहोस् ।’

  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार १९:४२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया