खोटाङ भूकम्पबारे गृहमन्त्री खाणले लिए जानकारी

गृहमन्त्री बालकृष्ण खाणले आज बिहान खोटाङमा गएको ६ रेक्टर स्केलको भूकम्प, त्यसबाट भएको क्षति र सरकारले गर्नुपर्ने उद्धारबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएका छन् ।  उनले प्रभावित भएका भए उचित व्यवस्थापन गर्न तथा जिल्ला र प्रदेशको स्रोतसाधनले नपुगेमा केन्द्रमा जानकारी गराउन निर्देशन दिएका छन् । 

गृहमन्त्री खाणले खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी र सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक कमल गिरीलाई टेलिफोन गरी भूकम्पको क्षति र गर्नुपर्ने उद्धारबारे जानकारी लिएका हुन् ।

खोटाङका प्रमुख जिल्ला अधिकारी सेढाईंका अनुसार जिल्लाको मार्तिमविर्ता केन्द्र बनाएर भूकम्प गएको थियो । भूकम्पबाट साकेला गाउँपालिका–५ वृष्टिका विकास कटुवालको ढुंगाको घर, डाडागाउँका प्रकाश प्रधान, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका ध्रुव पौडेल र सोही नगरपालिका–७ का सयङ्खुका गंगा राईको घरमा क्षति पुगेको छ । 

गृह मन्त्रालयका अनुसार अहिलेसम्म क्षतिको पूर्ण विवरण आएको छैन । सूचना प्राप्त हुनासाथ परिचालित हुने गरी नेपाली सेना, प्रहरी र विपद् व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको प्रजिअ सेढाईंले जानकारी दिएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ ।





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार १८:९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया