तीन वर्षमा सुदूरपश्चिमका पहाडी जिल्लाबाट ७५ सुत्केरी तथा गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार

पछिल्लो तीन वर्षमा सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाबाट ७५ जना सुत्केरी तथा गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । गर्भावस्थामा रहेर समस्यामा परेका, सुत्केरी हुन नसकेका र सुत्केरीपछि पनि जिल्लामा उपचार हुन नसक्ने समस्या आएका महिलाहरूको उद्धार गरिएको हो । 

सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बैतडी, बाजुरा, अछाम, डडेलधुरा, दार्चुला र डोटीमा स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेका र सुत्केरी भएपछि जटिल अवस्था आएका महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत सुत्केरी हुन नसकेका तथा सुत्केरी भएपछि जटिल अवस्था आएका महिलाहरूको उद्धार गरिँदै आएको छ ।

यो कार्यक्रमले सुदूर पहाडका जिल्लाहरूका महिलालाई सहयोग पुगेको छ । ‘गएका तीन वर्षमा सबैभन्दा बढी बझाङबाट ३३ महिलाको उद्धार गरिएको छ । बझाङमा नै सुत्केरी हुन नसकेका तथा जिल्लामा सुत्केरी भएपछि जटिल अवस्था आएका ३३ महिलाको उद्धार गरिएको छ,’ बझाङका सहायक प्रमुख जिल्ला अधिकारी प्रमोद चनले भने, ‘राष्ट्रपति उत्थान कार्यक्रम लागू भएपछि जिल्लाबाट ठूलो संख्यामा महिलाहरूको उद्धार गरिएको छ । यसले दुर्गमका महिलाहरूलाई मृत्युको मुखबाट नै जोगाएको छ ।’ 

यस्तै, बाजुराबाट १९, अछामबाट २३, दार्चुलाबाट ३ जना, डोटीबाट २ र बैतडीबाट २ जना महिलाको उद्धार गरिएको छ । गत असर असार १७ को राति ११ बजेतिर सुत्केरी बेथा लागेकी बाजुराको बुढीनन्दा नगरपालिका ६ की मनीषा भण्डारीलाई आफन्तले भोलि बिहान मात्रै नजिकैको स्वास्थ्य चौकी पुर्‍याए । स्वास्थ्य केन्द्रले अवस्था जटिल भएको भन्दै अन्तै लैजान भन्यो ।

‘सदरमुकाम मार्तडी पुग्न नै पाँच घण्टा लाग्ने । तर, निरन्तरको झरीका कारण बाटो पनि बन्द थियो । विकल्प नदेखेर हार खाइसकेको थिएँ,  श्रीमती र बच्चा बचाउन सक्दिन कि भन्ने डर थियो,’ मनीषाका श्रीमान् नहकुल रोकायाले भने, ‘धन्न साँझ ५ बजे कोल्टीबाट हेलिकोप्टरमा सुर्खेत पठाउने व्यवस्था मिल्यो । दुवैको ज्यान बच्यो ।’ सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा शल्यक्रिया भएपछि आमा र बच्चा दुवैको ज्यान जोगिएको हो ।

मनिषा त एउटा उदाहरण मात्रै हुन्, उनी जस्तै सुदूर पहाडका कैयौँ महिलाहरूको दर्दनाक पीडा छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ की गंगा ऐडीले सुत्केरी भइसकेपछि जटिल अवस्था आउँदा ज्यान नै गुमाउनु पर्‍यो ।



२४ जेठमा जिल्ला अस्पताल बझाङमा बच्चा जन्माएकी ऐडीको पाठेघर नखुम्चिएपछि उनलाई जिल्ला अस्पतालले रिफर गरेको थियो । रिफर गरे लगत्तै उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टर मार्फत उद्धार गरी कोहलपुर मेडिकल कलेजमा पठाइयो । तर गंगाको अचेत अवस्थामा नै कोहलपुर मेडिकल अस्पतालमा मृत्यु भयो । बझाङबाट मात्रै सुत्केरी हुन नसकेको तथा सुत्केरी भएपछि आउने जटिल अवस्थाका कारण पछिल्लो तीन वर्षमा ३३ जना महिलाको उद्धार गरिएको हो । 

‘जिल्लाभित्रै सुविधा सम्पन्न अस्पताल छैनन् । भएकाले पनि राम्रो सेवा सुविधा दिँदैनन् । जिल्लामा नै सुविधा सम्पन्न अस्पताल बनाउने र विशेषज्ञ डाक्टरको सुविधा दिने प्रदेश सरकारले भनेको छ, तर अहिलेसम्म पनि जिल्ला अस्पतालका स्वास्थ्य सेवामा सुधार आउन सकेको छैन,’ बाजुरा बडिमालिका नगरपालिका–४ का स्थानीय नवराज रोकायाले भने । बाजुरा, बझाङलगायत पहाडी जिल्लाको समस्या र अवस्था उस्तै छ । पहाडी जिल्लामा विभिन्न रोगका विशेषज्ञ डाक्टरको कोटा भए पनि डाक्टरहरू सेवा सुविधा कम भएको भन्दै आउन नमान्ने गरेको जिल्ला अस्पताल बझाङका प्रमुख डा. नवराज जोशीको भनाइ छ ।



सुदूरपश्चिम प्रदेश सरकारले पनि गर्भवती, सुत्केरी र ज्यान जोखिममा परेका बिरामीलाई हवाई उद्धार गर्ने कार्यक्रम राखेको छ । यो कार्यक्रमबाट तीन वर्षमा नौ जनाको उद्धार गरिएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य, शिक्षा अधिकृत हेमराज खड्काले बताए । ‘सुदूरपश्चिमका सबै जिल्लामा यो कार्यक्रम लागू गरिएको छ,’ उनले भने । राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट केही समस्या परेर उद्धार नभएका गर्भवती र सुत्केरीलाई प्रदेशको कार्यक्रमबाट उद्धार गरिएको उनले बताए ।

पहाडी जिल्लाका धेरैजसो बस्तीबाट स्वास्थ्य संस्था पुग्नै घण्टौँ समय लाग्छ । अझ बझाङको साइपाल गाउँपालिकाबाट जिल्ला अस्पताल पुग्न मात्रै ४ दिनको यात्रा गर्नु पर्ने बाध्यता रहेको छ । साइपाल गाउँपालिकामा सामान्य बिरामी हुँदा पनि उपचारका लागी जिल्ला अस्पतालमा तत्काल ल्याउनका लागी हेलिकप्टर प्रयोग गर्नु पर्ने बाध्यता रहेको साइपाल गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले बताए ।

गत २ असारमा भिरबाट लडेर घाइते भएका साइपाल गाउँपालिकाका दुईजनाको सिम्रिक एयरको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । सरकारले सर्वसुलभ स्वास्थ्य सेवाको लक्ष्य लिए पनि साइपालका स्थानीयहरू महँगोमा उपचार गर्न बाध्य छन् । 

त्यसैले विकट क्षेत्रका बासिन्दाका लागि हेलिकोप्टरबाट उद्धार कार्यक्रम प्रभावकारी भएको जिल्ला अस्पताल बझाङका डा. नवराज जोशी बताउँछन् । बिरामी भएकै स्थानबाट उद्धार हुने भएकाले गर्भवती र सुत्केरीलाई हवाइ उद्धारले धेरै सजिलो भएको उनले बताए । नजिकैका स्वास्थ्य संस्था वा जिल्ला अस्पतालमा उपचार हुन नसकेका गर्भवती र सुत्केरीलाई हवाई उद्धार गरिएको जिल्ला अस्पताल बझाङका प्रमुख डा. जोशीले बताए ।

‘गर्भवती र सुत्केरीलाई सक्दो छिटो उपचार चाहिन्छ, हवाइ उद्धारबाट सुविधायुक्त अस्पतालमा लैजान पाउँदा सजिलो भइरहेको छ,’ उनले भने, ‘हवाई उद्धार भएकै कारण ज्यान बचाउन सकिएको छ ।’ 

  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार ११:४९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया