आयुर्वेद उपचारमा बिरामीको आकर्षण बढ्दै, औषधि र जनशक्तिको भने अभाव

मकवानपुरमा पछिल्लो समय आयुर्वेद स्वास्थ्य उपचारमा बिरामीको आकर्षण बढ्दै गएको छ । कम खर्चमा राम्रो स्वास्थ्य उपचार हुने भन्दै आयुर्वेद उपचार गर्ने बिरामीको सङ्ख्या बढ्दै गएको हो । अघिल्ला वर्षहरूमा आयुर्वेदिक उपचारमा बिरामीको कमै ध्यान जाने गरेको भए पनि अहिले भने उपचारका लागि आयुर्वेदबाट सेवा लिनेको सङ्ख्या बढ्न थालेको हो ।

दैनिक रूपमा ६० देखि ८० जनासम्म बिरामी आयुर्वेदिक उपचार गराउन आउने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । बिरामीको सुविधालाई ध्यानमा राख्दै विभिन्न स्वास्थ्य उपकरणसमेत जडान गरिएको छ । उपचारमा आउने बिरामीलाई विभिन्न आयुर्वेदिक औषधिको प्रयोगसँगै उपकरणको सहायताले सेक ताप गर्दै रोग अनुसारको उपचार पद्धति अपनाइएको कार्यालयको भनाइ छ । आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीको आकर्षण बढ्दै गएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका कविराज डा. नितेश गिरी बताउँछन् । 

एक वर्षमा ९ हजार बढीले लिए सेवा 
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा गत आर्थिक वर्ष २०७८/०७९ मा ९ हजार १ सय ११ बिरामीले आयुर्वेद उपचारको सेवा लिएको केन्द्रको तथ्याङ्क छ । ४ हजार ५ सय १५ महिला र ४ हजार ४ सय ९५ पुरुषले सेवा लिएको केन्द्रका सूचना अधिकारी अशोक कुमार झाले जानकारी दिए । 

आर्थिक वर्षको पहिलो महिना साउनमा ५ सय ३९ महिला र ४ सय ७४ पुरुष गरी १ हजार १३ जनाले उपचारको सेवा लिएका छन् । त्यस्तै भदौ महिनामा ५ सय ५५ महिला र ५ सय ९३ पुरुष गरी १ हजार ८८, असोजमा ३ सय ८७ महिला र ३ सय ५१ पुरुष गरी ७ सय ३८, कार्तिकमा ३ सय ८० महिला र ५ सय ५ पुरुष गरी ८ सय ८५ ले उपचार गराएका छन् । 

यस्तै मंसिरमा ३ सय ७५ महिला र ३ सय ५१ पुरुष गरी ७ सय २६ ले उपचार गराएका छन् भने पुसमा ४ सय ५ महिला र ४ सय ८९ पुरुष गरी ८ सय ९४, माघ २ सय ७७ महिला र २ सय ८२ पुरुष गरी ५ सय ५९, फागुनमा ३ सय ८ महिला र ३ सय १३ पुरुष गरी ६ सय २१ र चैत्रमा ४ सय २० महिला र ३ सय ५२ पुरुष गरी  ७ सय ७२ जनाले उपचारको सेवा लिएको तथ्याङ्क छ । 

त्यस्तै वैशाख महिनामा ३ सय ५५ महिला र २ सय ८४ पुरुष गरी ६ सय ९, जेठमा ३ सय ३१ महिला र ३ सय ७६ पुरुष गरी ७ सय ७ र आर्थिक वर्षको अन्त्य अर्थात् असार महिनामा ३ सय ६८ महिला र २ सय ९७ पुरुष गरी ६ सय ६ जनाले उपचारको सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको तथ्याङ्क छ । 



औषधिको अभाव
बिरामीहरूको आयुर्वेद औषधि तर्फ केन्द्रित हुँदै गए पनि पर्याप्त औषधि उपलब्ध नहुँदा भने समस्या हुँदै आएको छ । विशेष गरी ग्यास्टिक, पायल्स, अल्सर तथा बाथ सम्बन्धी रोगका बिरामीहरूलाई दिइने औषधिहरू सकिएको लामो समयसम्म पनि स्वास्थ्य आपूर्ति केन्द्र बागमती प्रदेशले उपलब्ध गराउन नसक्दा सेवाग्राही हरु मारमा पर्ने गरेका छन् । एक पटक आएपछि औषधि छैन भन्ने थाहा पाएपछि लामो समय सम्म बिरामी नआउने गरेको बताइएको छ । 



जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । पछिल्लो समय रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि आयुर्वेदिक औषधि अत्यन्त उपयोगी मानिएको छ । साथै यसको उपचार गराउने बिरामीका सङ्ख्या वृद्धि भए पनि औषधि अभावले स्वास्थ्य सेवा प्रभावित हुन पुगेको केन्द्रका सूचना अधिकारी अशोक कुमार झा बताउँछन् । स्वास्थ्य केन्द्रमा उपचार तथा परामर्श लिनेका सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । आवश्यकता अनुसार सेवाग्राहीलाई औषधि उपलब्ध गराउन नसकिएको बताइएको छ । 

जनशक्तिको पनि अभाव
आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचारका लागि जनशक्तिको अभावका कारण कार्यसम्पादनमा सकस भएको कर्मचारीहरु बताउँछन् । केहि समय अघि सम्म ६ जनाले काम गर्दै आइरहेको अवस्थामा लेखा शाखाका कर्मचारीको सरुवा भएपछि अहिले ५ जनाले (कार्यालय सहयोगी बाहेक) धानिरहेका छन् । 

बिरामीलाई दिनुपर्ने सेवा देखि औषधि उपचार सम्म सीमित कर्मचारीले धान्नुपर्ने अवस्था रहेको सूचना अधिकारी झा बताउँछन् । ‘सूचना शाखा हेर्नेले अरू थुप्रै कामहरू पनि हेर्न परिरहेको छ । मान्छे थोरै काम धेरै हुनाले हामीलाई काम गर्न पनि उत्तिकै समस्या छ,’ उनले भने - ‘मैले मात्रै होइन बाँकी ५ जना साथीहरूको हाल पनि उस्तै छ ।’

उपचारमा मात्रै ध्यान लगाएर काम गर्न पाउने स्थिति छैन, उनले भने, ‘कर्मचारीको अभाव छ भन्ने प्रदेश सरकारलाई थाहा छ । तर पनि व्यवस्थापन हुन सकेको छैन । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले पनि यसमा ध्यान दिन आवश्यक छ ।’

  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार १२:२५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया