नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तत्काल अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार पुगेका बारका पदाधिकारीको टोलीले सभामुख सापकोटालाई भेटेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग अघि बढाउन आग्रह गरेको हो ।
संघीय संसदमा विचाराधीन रहेको जबराविरुद्धको महाअभियोग प्रस्ताव लामो समयसम्म अघि नबढेपछि बारको टोली सिंहदरबार पुगेको हो । बारकी महासचिव अञ्जिता खनालले चालू अधिवेशनबाट नै प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगको छिनोफानो गर्ने गरी प्रक्रियाअघि बढाउन माग गर्न बारको टोली सभामुख सापकोटासमक्ष पुगेको जानकारी दिइन् ।
जबराविरुद्ध सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले गत १ फागुनमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए भने २३ फागुनमा प्रतिनिधिसभा बैठकले महाअभियोग सिफारिस समिति बनाएको थियो ।
तर, न त समितिले न संसदले सो महाअभियोग प्रस्तावका बारेमा थप कुनै कारबाही प्रक्रिया बढाएको छैन । महाअभियोग प्रस्ताव भएलगत्तै प्रधानन्यायधीश राणा ४ महिनादेखि निलम्बनको अवस्थामा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।