नेपालले फिफा विश्वकप तथा एएफसी एसियाकप छनोटको प्रारम्भिक चरण खेल्नुपर्ने

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को एसिया छनोट चार चरणमा हुने भएको छ। एसियाली फुटबल महासंघ (एएफसी)को कार्यकारी समितिले आइतबार यो निर्णय गरेको हो । 

एएफसीले एसियाका ४७ सदस्य राष्ट्रका लागि छनोटको ढाँचा सार्वजनिक गरेको हो। एसियन कप २०२७ मा २४ टोलीले सहभागिता जनाउनेछन् ।

अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने फिफा विश्वकप २०२६ मा ४८ टोलीबीच प्रतिस्पर्धा हुने तय छ। 

फिफा विश्वकप २०२६ मा एसियाका लागि आठ कोटा छ। यस्तै एसियाका एक टोलीले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउनेछन्। प्लेअफ जितेको अवस्थामा २०२६ मा एसियाबाट नौ टोलीले विश्वकपमा भाग लिन सक्नेछन्।

हालको वरीयताअनुसार नेपालले छनोटमा प्रारम्भिक चरणमै प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। किनभने एएफसीका २६औँ वरीयतादेखिका टोलीले प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्नुपर्नेछ । हाल नेपाल एसियाको वरीयताको ३७औँ स्थानमा छ।

फिफा विश्वकप २०२६ एसिया छनोट



प्रारम्भिक चरण–१ः प्रारम्भिक चरण–१ मा एएफसीको वरीयता अनुसार २६ देखि ४७ सम्म पर्ने २२ टोली समावेश हुनेछन् । जसमध्ये होम एन्ड अवे आधारमा दुई–दुई टोलीबीच प्रतिस्पर्धा हुने तथा विजेता ११ टोली प्रारम्भिक चरण–२ मा प्रवेश गर्नेछन् ।

प्रारम्भिक चरण–२ः यस चरणमा ३६ टोलीको सहभागिता रहनेछ । जसमा प्रारम्भिक चरण–१ बाट आएका ११ तथा एएफसीको वरीयतामा शीर्ष २५ भित्र पर्ने टोली रहनेछ ।३६ टोलीलालाई नौ समूहमा विभाजन गरिनेछ र त्यसमा समान चार टोली रहनेछन् । यसमा समूहभित्र राउन्ड रोविन र होम एन्ड अवेका आधारमा खेल हुनेछ । त्यसपछि नौवटै समूहका शीर्ष दुई टोली एसियन क्वालिफायर्समा प्रवेश गर्नेछन् ।



एएफसी एसियन क्वालिफायर्सः यहाँ १८ टोलीलाई तीन समूहमा बिभाजन गरिनेछ । प्रत्येक समूहमा समान ६ टोली रहनेछन् र उनीहरुबीच राउन्ड रोविन तथा होम एन्ड अवेका आधारमा खेल हुनेछ । तीनवटै समूहका शीर्ष दुई अर्थात ६ टोली विश्वकपका लागि सिधै छनोट हुनेछन् ।

एसियन प्लेअफः एसियन क्वालिफायर्स अन्तर्गत समूहमा तेस्रो तथा चौथों भएका जम्मा ६ टोलीलाई दुई समूहमा विभाजित गरिनेछ । यसमा सिंगल राउन्ड रोविन आधारमा खेल हुने तथा दुबै समूहका शीर्ष अर्थात २ टोली विश्वकपका लागि छनोट हुनेछन् ।

त्यसपछि दुवै समूहमा दोस्रो भएका टिमबीच प्लेअफ खेल हुनेछ र विजेता टोलीले इन्टरकन्टिनेन्टल प्लेअफ खेल्नेछ ।

एएफसी एसियन कप २०२७

विश्वकप छनोट अन्तर्गत प्रारम्भिक चारण–२ का समूह विजेता र उपविजेता गरी १८ टोली एसियन कप २०२७ मा स्वतः छनोट हुनेछन्। बाँकी ६ स्थानका लागि एसियन कप छनोट हुनेछ।

एसियन कप छनोट

एसिया कप छनोटमा विश्वकप छनोटको दोस्रो चरणको आफ्नो समूहमा तेस्रो र चौथो भएका १८ तथा यस्तै पहिलो चरणमा पराजित भएका १० मध्ये प्लेअफबाट आउन पाँच टोली ,पहिलो चरणमा पराजित हुने एउटा उत्कृष्ट वरीयताको टोली गरी कुल २४ टोली हुनेछन् ।

यी टोलीलाई ६ समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहका शीर्ष ६ टोली  एसियन कप २०२७ का लागि छनोट हुनेछन् ।

  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार १९:४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया