भरत ताल निर्माणका लागि प्रदेश सरकारले उपलब्ध गराएको ३० करोड रुपैयाँमा अनियमितता

सर्लाहीको बागमती नगरपालिकामा भरत ताल निर्माणका लागि मधेस प्रदेश सरकारले उपलब्ध गराएको रकममा अनियमितता भएको आशंकामा सार्वजनिक लेखा समितिले स्थलगत अनुगमन गरेको छ ।
 
स्थलगत अनुगमनपश्चात् लेखा समितिका सभापति नरेशकुमार यादवले मानव निर्मित तालको विकासका लागि प्रदेश सरकारले उपलब्ध गराएको ३० करोड रुपैयाँमा अनियमितता भएको बताएका हुन् ।
 
गत असार ६ गते भरत तालमा विभिन्न निर्माण कार्यका लागि प्रदेश सरकारले ३० करोड रुपैयाँ निकासा गरेको थियो । समिति सभापति यादवले काम नहुँदै भुक्तानी भएको, अरुको काम पनि प्रदेश सरकारकै बजेटमा देखाइएको र टेण्डर भएपछि प्रदेश सरकारले बजेट दिएकोलगायतका कमजोरी फेला परेको बताए ।

निर्माणसम्बन्धी सम्पूर्ण कागजात लेखा समितिलाई उपलब्ध गराउन निर्देशन दिइएको उनले जानकारी दिए । उनले गत आर्थिक वर्षको अन्त्यमा भरत तालको विकास निर्माणका लागि रकम छुट्याएर काम पूरा नहुँदै भुक्तानी भएकाले अनियमितता भएको देखिएको बताए । यद्यपि उपभोक्ता समितिका फाइलहरु अध्ययन गरेपछि मात्रै स्पष्ट रुपमा यसबारे केही भन्न मिल्ने उनले बताए ।

लेखा समितिले उपभोक्ता र टेण्डरबाट भएको विकास निर्माण कार्यको फाइल दुई दिनभित्र उपलब्ध गराउन अर्थ मन्त्रालयसँग माग गरेको छ । 

सभापति यादवले भने, ‘प्रदेश सरकारले भरत तालको थप सौन्दर्यीकरणका लागि ३० करोड रुपैयाँ निकासा गरेको छ, भुक्तानी पनि भइसकेको छ । तर, काम भने अझै जारी छ ।’

भरत तालमा सौन्दर्यीकरण, रिफ्रेस सेन्टर, प्रतिक्षालय, पार्क निर्माण र १२ हजार थान आँपको वृक्षारोपण गर्नेलगायत कामका लागि प्रदेश सरकारले ३० करोड रुपैयाँ दिएको थियो । ताल वरिपरि १९ दिनमै काम सम्पन्न भएको भन्दै सरकारले भुक्तानीसमेत गरिसकेको छ । तर, त्यहाँ काम भने अझै जारी रहेको पाइएको छ । 

प्रदेश सभा बैठकमा भरत तालको नाममा अनियमितता भएको आवाज उठेपछि सभामुख सरोजकुमार यादवले सार्वजनिक लेखा समितिलाई छानबिन गर्न निर्देशन दिएका थिए ।





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार १८:३६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया