ताइवानको राष्ट्रपति कार्यालयको वेबसाइटमा मंगलबार साइबर आक्रमण भएको छ । यो हमला अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको केही घण्टाअघि भएको हो । साइबर आक्रमणको पछाडि चीनको हात रहेको आशंका गरिएको छ ।
यससँगै ताइपेई एयरपोर्टलाई बमले उडाउने धम्की आएको छ । यो धम्की ह्याकरले दिएको हो वा अन्य कुनै संस्थाले दिएको हो अझै स्पष्ट भएको छैन ।
अहिले पेलोसी एसिया भ्रमणमा छन् । उनी मलेसियाबाट मंगलबार साँझ ७:४५ बजे ताइवान पुग्ने छिन् । उनलाई ताइवानका राष्ट्रपति साई इङ वेनले विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।
पेलोसीको ताइवान भ्रमणबाट चीन चिन्तित छ । उसले अमेरिकालाई बारम्बार गम्भीर परिणामको धम्की दिएको छ । अहिले दुई देशबीचको तनाव कम हुने कुनै संकेत देखिएको छैन ।
पेलोसी मङ्गलबार राति १०:२० बजे ताइपेई सोङ्गशान एयरपोर्टमा अवतरण हुने छिन् । जापानी सञ्चारमाध्यमका अनुसार पेलोसीको विमानको सुरक्षाका लागि ८ अमेरिकी लडाकु विमान र ५ वटा इन्धन भर्ने विमानले अमेरिकी सैन्य अखडाबाट उडान भरेका छन् ।
ताइवानी सञ्चारमाध्यमका अनुसार पेलोसीको सैन्य विमान साउथ चाइना सागर नजिकैबाट गुज्रिरहेको देखिने छ । पेलोसीको भ्रमणअघि अमेरिकाले ताइवानको उत्तरी समुद्री सीमामा चारवटा युद्धपोत तैनाथ गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।