राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक नियुक्ति कहिले होला ?
फाइल तस्बिर

दोस्रो पटक कार्यकाल सम्हाल्न आएका प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन छ । नेपाल क्रिकेट संघ (क्यान) प्रशिक्षकको खोजीमा छ । तत्कालका लागि कुनै पनि प्रतियोगिता नभएको अवस्थामा टोलीको अभ्यास अन्योल नै छ । खेलसँगै प्रशिक्षकको प्रशिक्षण अवधिमा पनि अस्थिरता देखिन थालेको छ । प्रशिक्षक खोज्न ढिलो भएको भन्दै आलोचना पनि सुरु भइरहेको अवस्थामा क्यानले नियुक्तिका लागि प्रारम्भिक कार्य थालेको जनाएको छ ।

राष्ट्रिय क्रिकेट टोलीमा गुट, उपगुट र विवाद भएको अवस्थामा दोस्रो पटक नेपाली टोली सम्हाल्न आएका प्रशिक्षक पुबुदुले ७ महिनापछि राजीनामा दिए । उनको  राजीनामासँगै अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षक विहीन छ । नेपाली टोलीको अस्थिर प्रदर्शनसँगै प्रशिक्षक कार्यकाल पनि अस्थिर हुन थालेको हो । पहिलो कार्यकालमा नेपाली क्रिकेटलाई सफलताको उचाइको पुर्‍याएका प्रशिक्षक पुबुदुबाट सोही अपेक्षाका साथ दोस्रो पटक नेपाल क्रिकेट संघ (क्यान) ले नियुक्त गरेको थियो । 

तर, पुबुदुमाथिको भरोसा उनको राजीनामासँगै सकियो । टोलीबाट स्थिर प्रदर्शनको अपेक्षा राखिए पनि त्यो हुन सकेन । टोलीको प्रदर्शन ठिक उल्टो हुँदै गयो । विश्व क्रिकेट लिग–२ को भ्रमणमा नेपाली टोलीले उपलब्धि निकाल्न सकेन । अपेक्षा गरिएका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् र स्वदेश फर्किएपछि पुबुदुले राजीनामाको घोषणा गरे । राजीनामा दिन आयोजित कार्यक्रममा पुबुदुले टोलीमा गुट/उपगुट भएको संकेत छोडेका छन् । पुबुदुको बहिर्गमनसँगै क्यान अहिले नयाँ प्रशिक्षकको खोजीमा रहेको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ले बताए ।

 क्यानले विदेशी प्रशिक्षकहरूसँग सम्पर्क गरिरहेको र राम्रो प्रशिक्षक छिट्टै नियुक्त गर्ने मल्लले जानकारी दिए । प्रशिक्षक नियुक्तिका लागि आन्तरिक प्रक्रियाबाट अगाडि बढेको र कठिन अवस्थामा रहेको नेपाली क्रिकेट सम्हाल्न सक्ने प्रशिक्षकको खोजीमा रहेको मल्लले बताए । क्यानको सम्पर्कमा विश्वका नाम चलेका प्रशिक्षक पनि रहेको बताए ।

उनले भने, ‘आन्तरिक प्रक्रियाबाट पनि प्रशिक्षक नियुक्त गर्न सकिन्छ । सूचना ननिकाली पनि प्रशिक्षक ल्याउन सकिन्छ । हामीले खोज्ने भनेको वेस्ट कोच हो । जसले नेपाली क्रिकेटलाई राम्रोसँग ह्यान्डल गर्न सकोस् । टोलीमा प्रदर्शनको आधारमा केही कठिनाइ पनि छन्, त्यसलाई समाधान गर्ने प्रशिक्षकको खोजीमा छौँ । अहिले हामीसँग विश्वका नाम चलेको प्रशिक्षक पनि छन् । हामीलाई काम गर्न सक्ने, टोलीलाई अगाडि बढाउन सक्ने, टोलीलाई लामो समय दिन सक्ने प्रशिक्षक खाँचो छ । छिट्टै नयाँ प्रशिक्षक नेपाली क्रिकेटले पाउँदै छ । शुभ समाचार नेपाल क्रिकेटले छिट्टै पाउँछ ।’

क्रिकेट एउटा समूहको खेल हो । टोलीका हरेक खेलाडीको भूमिका खेलमा उत्तिकै महत्त्व हुन्छ । प्रशिक्षक एउटा पात्र हुन् जसले टोलीलाई एक बनाउन र योजनासहित अगाडि बढाउन भूमिका खेल्नुपर्ने हुन्छ । यही अपेक्षा पुबुदुबाट गरिए पनि हुन सकेन । जसका कारण अहिले टोली प्रशिक्षक विहीन छ । अहिलेको अवस्थामा नेपाली टोलीले पाएको एक दिवसीय मान्यता धरापमा पर्न थालेको छ । खेलाडीको प्रदर्शनको पारो उकालो लाग्नुभन्दा पनि ओरालो लाग्नु एउटा कारण गणना हुन थालेको छ । 



कुनै समय साख बटुलेको नेपाली क्रिकेटलाई अहिले जोगाउन मुस्किल देखिन थालेको छ । यी सबै समस्या समाधान गर्न नयाँ र विगतका भन्दा माथिल्लो स्तरका प्रशिक्षकबाट सम्भव हुने देखिएको छ । नेपाली क्रिकेटलाई उकास्नका लागि नेपाली संस्कृति र नेपाली खेलाडीको मनोभावना बुझ्न सक्ने प्रशिक्षक आवश्यक भएको पूर्व क्रिकेटर पवन अग्रवाल बताउँछन् । 

उनले खेलाडी र प्रशिक्षकबीच भाषा मिल्ने प्रशिक्षक आवश्यक रहेको बताउँदै भारत, श्रीलंका,पाकिस्तानका लेभल थ्री कोर्ष गरेका प्रशिक्षक हुँदा नेपाली टोलीलाई सहज हुने बताए । अहिले नेपाली क्रिकेटमा भाषा र संस्कृति नबुझ्ने समस्याका कारण पनि कतिपय खेलाडीलाई प्रशिक्षणमा कठिन भएको उहाँको भनाइ छ । उहाँले पूर्व प्रशिक्षक दाशानायकेले आफ्नो दोस्रो कार्यकालमा अपेक्षा अनुसारको नतिजा दिलाउन नसकेको बताए ।



उनले भने, ‘पुबुदुको दोस्रो कार्यकाल सम्हाले पनि अपेक्षा अनुसारको नतिजा दिलाउन सक्नुभएन । उहाँको राजीनामापछि हामीले चाहिने प्रशिक्षक भनेको नेपाली संस्कृति र नेपाली खेलाडीको मनोभावना बुझ्ने प्रशिक्षक आवश्यक छ । खेलाडी र प्रशिक्षकबीच भाषा मिल्ने प्रशिक्षक आवश्यक छ । भारत, श्रीलंका,पाकिस्तानका लेभल थ्री कोर्ष गरेका प्रशिक्षक हुँदा नेपाली टोलीलाई सहज हुन्छ । यी देशबाट प्रशिक्षक ल्याउँदा हामीलाई फाइदा हुन्छ । किनभने उहाँहरूले नेपाली संस्कृति बुझ्नुहुन्छ, खेलाडीसँगको संवाद केही हदसम्म सहज हुन्छ ।’

विशेष गरी नेपाली क्रिकेटको ब्याटिङ पक्ष सधैँ आलोचना हुँदै आएको छ । केही पछिल्ला खेलमा पनि नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसक्दा मुखैमा आएका नतिजा सुम्पिनुपरेको छ । र अहिलेको नेपाली टोलीमा सबैभन्दा सुधारको पाटो ब्याटिङ नै हो । सँगै पुबुदुले साङ्केतिक रूपमा टोलीभित्र देखाएको गुट/उपगुट अर्को समस्या नतिजा धकेल्ने कारक बन्न थालेको छ । यी समस्या समाधान नगरे नेपाली क्रिकेटको साख धराशायी हुने निश्चित छ । 

  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार १३:४३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया