इन्धनको मूल्य समायोजन गर्न आयल निगमलाई अनेरास्ववियुको खबरदारी

नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न नेपाल आयल निगमलाई खबरदारी गरेको छ ।

बुधबार अनेरास्ववियू बागमती प्रदेश कमिटीले नेपाल आयल निगमको कार्यालय टेकु अगाडि मूल्य समायोजनको माग गर्दै विरोध प्रदर्शन गरेको हो । भारतबाट मूल्य घटेर आए पनि निगमले मूल्य समायोजन नगरेको भन्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीले ग्यास र पेट्रोलिय पदार्थको मूल्यवृद्धि फिर्ता गर, जनताको चुलो निभाउन पाइँदैन परामदेशी सरकार चाहिँदैन, नालायक सरकार राजीनामा दे लेखेका प्लेकार्ड बोकेका थिए । कतिपय प्लेकार्डमा प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना गरिएको थियो ।

विरोध प्रदर्शन गर्दै अनेरास्ववियूका केन्द्रीय सदस्य विशाल विश्वकर्माले यथाशीघ्र मूल्य समायोजन गर्न निगमलाई आग्रह गरेका छन् । उनले मूल्य समायोजन नभए अनेरास्ववियू कडा आन्दोलनमा उत्रने चेतावनी पनि दिए ।

'अन्तराष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटे पनि नेपालमा नघटेको हुनाले यसलाई समायोजन गर्नको लागि हाम्रो आन्दोलन हो । सरकारले दलाली करण भईरहेको छ, हामीले खबरदारी गर्ने कार्यक्रमलाई निरन्तरता दिने छौ ।'

विरोध प्रदर्शनप्रश्चात अनेरास्ववियुले नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायलाई बिनेल पौडेललाई विज्ञप्ति बुझाएको छ ।



अनेरास्ववियु बागमतीका अध्यक्ष पंकज भण्डारीद्वारा जारी विज्ञप्तिमा भारतीय पेट्रोलियम कर्पोरेसनले पछिल्लो १५ दिनमा दुई पटक गरेर पेट्रोलमा ३२.५६ रुपैयाँ र डिजेलमा २५.१ रुपैया प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यास ७७ रुपैयाँ प्रतिसिलिन्डर मूल्य घटाउँदा पनि नेपाल आयल निगमले घाटा पूर्तिको बाहानाबाजी गर्दै मूल्य नघटाएको उल्लेख गरिएको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको अवस्था पनि आयल निगम जनतालाई महँगीको भारी बोकाउन लागि परेको आरोप लगाइएको छ । अब तत्काल मूल्य नघटाए निर्णायक आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।



  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार १५:५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया