१९ दिनमा २२ अवैध लागुऔषध कारोबारी पक्राउ

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले प्रतिबन्धित लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । 

बुधबार ब्युरोले पत्रकार सम्मेलन गरी ०७९ असार ३२ देखि साउन १८ गतेसम्म २२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको जनाएको हो । पक्राउ पर्नेमा ४ महिला र १८ जना पुरुष रहेका छन् । 

कुल पक्राउ परेका २२ जनाबाट अवैध लागुऔषध खैरो हेरोइन ४५९ ग्राम, लागुऔषध डायलेक्स डिसी ११८० बोतल (१०० एमएल), लागुऔषध नाइट्रभेट ट्याब्लेट १२६० थान, प्रोक्सिभन क्याप्सुल १५० थान फेला परेको हो । 

यी सबै लागुऔषधको कुल अवैध बजारमूल्य ५८ लाख १० हजार ८ सय रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले विशेष निगरानी र विशेष सूचनाको आधारमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अवैधरुपमा लागुऔषध खैरो हिरोइन, त्यस्तै नियन्त्रित लागुऔषध डायलेक्स डिसी, नाइट्राभेट ट्याब्लेट र खैरो हिरोइन कारोवार गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको बताए । 

अहिले कारोबारीमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप भएर लागुऔषध ऐन २०३३ अनुसार कानुनी कारबाही भइरहेको बताउँदै उनले पक्राउ परेका व्यक्तिहरु धेरैजसो २२ देखि ४५ वर्ष उमेरसमूहका युवाहरु रहेको उल्लेख गरे । 

आजै मात्र पनि प्रहरी टोलीले सर्लाहीबाट २ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको उनले बताए । गत साउन ८ गते ताप्लेजुङ, मेरिङदेन गा.पा. ५ स्थायी ठेगाना भएकी वर्ष ३३ की तुलसा खड्कालाई ललितपुरको महालक्ष्मी नगरपालिका ४ इमाडोलबाट नाइट्राभेट ट्याब्लेट्स १२६० थान, प्रोक्सिभन १५० थान क्याप्सुल, डायलेक्स डिसी (कोडिन) ६ बोतल, ऐ.को खाली बोतल २८ थान, डायलेक्स डिसीजस्तो देखिने रातो रङको तरल पदार्थ ३०० मिलिलिटरसहित पक्राउ गरेको छ । 



त्यस्तै उनलाई लागुऔषधमा सहयोग गर्ने जिल्ला सुनसरीका युवराज खड्कालाई पनि पक्राउ गरेको जनाएको छ । त्यस्तै, तुलसा खड्कालाई लागुऔषध उपलब्ध गराउने रौतहटका ४६ वर्षका किशोर चौलागाईंलाई साउन १० गते पक्राउ गरेको जनाएको छ भने उनलाई लागु औषध उपलब्ध गराउने सिन्धुपाल्चोकका ४७ वर्षीय मानबहादुर तामाङलाई पनि पक्राउ गरेको जनाएको छ । 

त्यस्तै, मानबहादुर तामाङलाई लागुऔषध उपलब्ध गराउने सर्लाहीका ३५ वर्षका बुद्धबहादुर बोम्जनलाई साउन १० गते पक्राउ गरेको थियो । त्यस्तै, किशोर चौलागाईंलाई लागुऔषध उपलध्ध गराउने सर्लाहीका वर्ष २१ का विपिन कुसहवा, गाडी चालक रोतहटका २५ वर्षीय सुभाषराय यादव, रौतहटकै वर्ष १९ का मोहमद आसफाक आलमलाई तरकारीको बोरामा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेको जनाएको छ । 



त्यस्तै मानबहादुर तामाङलाई लागुऔषध उपलब्ध गराउने सर्लाहीका ४२ वर्षीय रतन मोक्तान र वर्ष २८ का दीपक श्रेष्ठलाई सायन १८ गते पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ । त्यस्तै प्रहरीले असार ३२ गते ताप्लेजुङका २७ वर्षीय राजकुमार तामाङ, ताप्लेजुङकै ३५ वर्षीया सुशीला तामाङलाई पक्राउ गरेको थियो । 

सुशीला तामाङलाई लागुऔषध उपलब्ध गराउने झापाका २० वर्षीया सञ्चमाया तामाङ, सोही झापाकै ३१ वर्षका मनिराज लिम्बूलाई साउन १ गते भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको जनाएको छ । त्यस्तै साउन १२ गते बझाङका २० वर्षे उपेन्द्र जाग्री, झापाका ३३ वर्षीय प्रेमहाङ सोलिङ, झापाकै ३७ वर्षीय योगेश लिङदेन, झापाकै २७ वर्षीय विदुर आङ्बोलाई १४ ग्राम अवैध लागुऔषध खैरो हेरोइन १४ ग्रामसहित पक्राउ गरेको हो । 

त्यस्तै रामेछापका वर्ष ४० की जुनुमाई मोक्तानलाई साउन १३ गते, गोकर्णेश्वर नगरपालिका ८ बाट ३८४ ग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको जनाएको छ । त्यस्तै, साउन १४ गते काठमाडौं महानगरपालिका वडा.न.३ बस्ने वर्ष ४३ का अनुज शाही, इलामका वर्ष ३२ का दीपेश विश्वकर्मा र जिल्ला पाँचथरका ३० वर्षीय काजिमान गुरुङलाई टोखा नगरपालिका ६ धापासीबाट अवैध लागुऔषध खैरो हेरोइन ७ ग्रामसहित पक्राउ गरेको जनाएको छ ।
 
 

  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार १७:३७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया