जी–७ राष्ट्रका विदेशमन्त्री : चीनको कारबाहीले अस्थिरताको जोखिम बढायो

अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले ताइवान छोडेपछि चीनले आजदेखि आसपासका क्षेत्रमा सैन्य कारबाही सुरु गरेको छ । ताइवानले आफ्नो आकाशमा २७ चिनियाँ लडाकु विमान प्रवेश गरिसकेको जनाएको छ ।

चीनले यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा हुने र यस अवधिमा ‘लामो दूरीको गोलाबारुद’ प्रहार गरिने जनाएको छ । ताइवानले यस अभ्यासबाट बच्न जहाजहरूलाई वैकल्पिक मार्गहरू खोज्न आग्रह गरेको छ । यससँगै छिमेकी मुलुक जापान र फिलिपिन्ससँग वैकल्पिक हवाई रुटका लागि पनि छलफल भइरहेको छ ।

चीनको चेतावनीको बाबजुद न्यान्सी पेलोसी मंगलबार ताइवान पुगिन् । उनी बुधबार ताइवानका राष्ट्रपति साइ इङ वेनलाई भेटेर अमेरिका प्रस्थान गरेकी हुन् । यस मामिलालाई बढ्न नदिनका लागि जी–७ समूह राष्ट्रका विदेशमन्त्रीहरूले संयुक्त वक्तव्य जारी गर्दै चीनको कारबाहीले अस्थिरताको जोखिम बढाएको बताएका छन् ।

‘ताइवान स्ट्रेटमा भ्रमणको बहानामा आक्रामक सैन्य गतिविधि सञ्चालन गर्नुको कुनै औचित्य छैन । सांसदहरू नियमित रूपमा अन्तर्राष्ट्रिय यात्रा गर्छन् र यो सामान्य हो,’ विज्ञप्तिमा भनिएको छ । जी ७– समूहमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र संयुक्त राज्य अमेरिका पर्छन्।

पेलोसी २५ वर्षमा पहिलो पटक ताइवान भ्रमण गर्ने पहिलो अमेरिकी उच्च अधिकारी हुन्। चीनले उनलाई यो यात्रा नगर्न चेतावनी दिएको थियो । चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्छ र यसको स्वतन्त्रताको विरोध गर्दछ।

चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले ‘तथाकथित लोकतन्त्रको आडमा चीनको सार्वभौमसत्ताको उल्लंघन गरेको’ आरोप लगाएका छन् । ‘आगोसँग खेल्नेको अन्त्य राम्रो हुँदैन र चीनलाई उक्साउनेलाई कारबाही हुन्छ,’ उनले भने।





  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार १९:२२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया