एक लाखकै हो त प्रधानमन्त्रीको जुत्ता ?

काठमाडौं– स्विट्जरल्यान्डको डावोसमा जारी विश्व आर्थिक मञ्चको ४९औँ बैठकमा सहभागी हुन गएका प्रधानमन्त्री केपी शर्मा ओलीले एक लाख रुपैयाँभन्दा बढी पर्ने जुत्ता लगाएको चर्चा अहिले सामाजिक सञ्जालमा व्याप्त छ ।

डावोस सम्मेलनमा रहेका प्रधानमन्त्री ओलीले लगाएको जुत्ता सामाजिक सञ्जालमा व्यंग्य र आलोचनाको विषय बनेको छ । फ्रेन्च ब्रान्ड लुइस विटोनको उक्त जुत्ताको मूल्य झन्डै १ लाख रुपैयाँ पर्ने भन्दै व्यंग्यका भावहरु सामाजिक सञ्जालमा छरिएका छन् । 

गरिब देशका प्रधानमन्त्रीले विश्वमञ्चमा त्यति महँगो जुत्ता लगाएको भन्दै यसको व्यापक आलोचना भएको हो । 

जर्मनीको डिडब्ल्यु टिभीसँग अन्तर्वाता दिने क्रममा महिला पत्रकारसँग खिचिएको तस्बिरमा उनले लगाएको जुत्ताको ब्रान्ड स्पष्ट देखिन्छ । त्यही तस्बिर यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

फेसबुकमा ओएसएन भट्टराई नामका एक युजर लेख्छन्, ‘हाम्रो प्रधानमन्त्री श्री केपी ओली युरोपमा मिडियासँग कुराकानी गर्दा एलवी (लुइस विइटन) पहिरनमा आइपुगेका थिए । जुन जुत्ता प्रधानमन्त्रीले लगाउनुभएको छ, त्यो जुत्ताको नेपाली मूल्य १ लाख पर्न जान्छ ।’



उनले प्रश्न गरेका छन्, ‘देशको अर्थतन्त्र नाजुक अवस्थामा भएको वेला विश्वसामु यति महँगो जुत्ता लगाउन साँच्चिकै सुहाउँछ प्रधानमन्त्रीलाई ? बोली चैँ देश बनाउने अनि जनताको पैसा लुट्ने ।’ ह्याट्यागमा उनले लुटतन्त्र लेखेका छन् ।  



निराजन खनाल व्यंग्यात्मक शैलीमा ट्विट गर्छन्, ‘झन्डै १ लाख पर्ने लुइस विटोनको जुत्ता लगाउने प्रधानमन्त्रीको देशको जनता भइयो, बलिया, धनी, अंग्रेजी बोलेर विशेष क्षमता देखाइदिए ।’

‘भरौटे’ नामबाट ट्विटर चलाउने एक युजर लेख्छन्, ‘पूर्वअमेरिकी राष्ट्रपति बाराक ओवामाले हाम्रो केपी बाले लगाउनुभा’को जस्तै जुत्ता किन्न आजैबाट पैसा जोगाउँदै छन् रेन्त, हनुमानजी ।’ 

‘गोल्ड स्टार जुत्ता लगाएर आफ्नो देशको उत्पादन प्रचारप्रसार गर्नुछैन, तपाईं लाखको जुत्ता खुट्टामा लगाएर हिँड्ने ?’ प्रधानमन्त्री ओलीको ट्विटर एकाउन्टलाई मेन्सन गर्दै ‘क्रेजी समय’ले ट्विटरमा प्रश्न गर्छन् ।  

‘केपी शर्मा कोली’ ह्यान्डलबाट व्यंग्य गर्दै ट्विट गरिएको छ, ‘डावोसको सम्मेलनमा मैले लगाएको जुत्ताको चर्चा चलाएछन् खुराफातीहरुले । देशलाई समृद्ध बनाउन म प्रयासरत छु । हाम्रो समृद्धिको दिशा देखेर अताल्लिएका विदेशीहरु खुट्टा तान्न आउलान् । त्यो वेलामा जुत्ता देखी जिल्ल परेर खुट्टा तान्न बिर्सनेछन् भनेर देशलाई बचाउन यो जुत्ता लगाएको हुँ ।’

त्यस्तै, ट्विटरमै सौरभ कार्की लेख्छन्, ‘खासमा हाम्रो प्रधानमन्त्रीलाई अरुको नजर कसरी झुकाउने भन्ने राम्ररी थाहा छ । राम्रो काम गरेर भन्दा चमकदार जुत्ता लगाएर अरुको शिर झुकाउन सकिन्छ ।’

उनले ब्रान्डको नाम र मूल्य उल्लेख गर्दै तस्बिरसहित लेखेका छन्, ‘कसले भन्छ हामी गरिब छौँ । अरे यार, एकचोटि हाम्रो प्रधानमन्त्रीको जुत्ता त हेर्नुहोस् ।’

‘लुइस विटोन पाउपोश नेपालका प्रधानमन्त्रीहरुको रोजाइमा नेपालमा एउटा फ्ल्यापसिप आउटलेट खोल्न आग्रह किन नगर्ने ?’ प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर राख्दै सञ्चारकर्मी भूषण दाहाल ट्विटरमा प्रश्न गर्छन् । 

पुँजीवादी शक्तिको ‘क्लब’ भनेर विवादित भइरहने यो अन्तर्राष्ट्रिय मञ्चमा पहिलोपटक नेपालको सहभागिताले बौद्धिक तहमा बहसको अवस्था सिर्जना गरेको छ । 

बलियो अर्थतन्त्र भएका राष्ट्रहरु, बहुराष्ट्रिय कम्पनी तथा अर्थविद्हरुको जमघट हुने यो मञ्च ८ देखि ११ माघसम्म चल्नेछ । यसमा नेपालका प्रधानमन्त्रीको सहभागितालाई कसैले अवसरको रुपमा लिएका छन् भने कसैले यसलाई व्यंग्य गरिरहेका छन् । 

बाँकी विषयलाई थाँती राख्दै यतिवेला सामाजिक सञ्जाल भने प्रधानमन्त्री ओलीले लगाएको जुत्तातर्फ केन्द्रित भएको छ । 
 

  • प्रकाशित मिति : माघ १०, २०७५ बिहीबार १७:३१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया