२२० केभीका ३ वटा सब स्टेसन र कोसी करिडोर प्रसारण लाइन सञ्चालन

नेपाल विद्युत् प्राधिकरणले एकै दिन २२० किलो भोल्ट (केभी)का तीन वटा सब स्टेसन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सब स्टेसनमा बिहीबारबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ । 

२२०/१३२/३३ केभी तुम्लिङटार र २२०/३३ केभी बानेश्वर सब स्टेसनमा क्रमश: २६० एमभिए र ६० एमभिए क्षमताका पावर ट्रान्सफर्मर छन् । 
साथै कोसी करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत इनरुवा–तुम्लिङटार खण्ड सिंगल सर्किट प्रसारण लाइन २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइनको लम्बाइ एक सय पाँच किलोमिटर छ । 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन र सब स्टेसन सञ्चालनमा आएपछि प्रदेश १ का पहाडी जिल्लाहरूमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रूपमा पूर्वाधार तयार भएको बताए ।  २२० केभी प्रसारण लाइन र सब स्टेसन सञ्चालनमा आएपछि त्यस क्षेत्रमा भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय भएको कार्यकारी निर्देशक घिसिङले बताए । 

‘मोरङ–सुनसरी औद्योगिक कोरिडोरमा सुनसरीको दुहवी सब स्टेसनबाट मात्र आपूर्ति हुँदा भोल्टेज, ट्रिपिङलगायतको समस्या थियो । अब दुहवी सब स्टेसनको लोड इनरुवा सब स्टेसनमा सार्न सकिने भएकोले उद्योगहरूलाई थप विद्युत् दिन सकिन्छ साथै भोल्टेज, ट्रिपिङलगायतका समस्या समाधान हुन्छ’,  घिसिङले भने , ‘सङ्खुवासभा, भोजपुर र तेह्रथुम जिल्लाका विद्युत् आयोजनाहरुका विद्युतगृह पनि ट्रिपिङ हुने समस्या थियो । अब त्यो समस्या पनि समाधान हुनेछ, कोसी कोरिडोर प्रसारण लाइनमार्फत आएको विद्युत् त्यस क्षेत्रमा खपत गरी बढी भएमा धनुषाको ढल्केबर सब स्टेसनमार्फत भारततर्फ समेत निर्यात गर्न सकिने छ ।’ 

नेपाल सरकारको लगानी र विश्व बैकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि २२०/१३२/३३ केभी इनरुवा सब स्टेसनको निर्माण गरिएको हो ।

नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैकको सहुलियतपूर्ण ऋणमा कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तुम्लिङटार, वसन्तपुर र बानेश्वरमा सब स्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो । 



इनरुवा सब स्टेसन सञ्चालनमा नआएकोले इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनलाई अस्थायी रूपमा ३३ केभीमाचार्ज गरी सञ्चालनमा ल्याइएको थियो । सङ्खुवासभाको किटिंगीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किमि प्रसारण लाई २ भदौ २०७८ मा ३३ केभीमा चार्च गरिएको थियो । 

प्रसारण लाइन र सब स्टेसनमा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि स्रोत उपलब्ध हुँदा प्रणालीलाई विश्वसनीय र गुणस्तरीय बनाउने घिसिङले बताए । 



सुनसरी–मोरङ औद्योगिक करिडोरको विद्युत् आपूर्ति सुधार, सुदृढीकरण र थप संरचनाका लागि इनरुवा सब स्टेसनबाट विराटनगरसम्म २३ किलोमिटर १३२ केभी प्रसारण लाइन र सब स्टेसन निर्माणाधीन छन् । 

इनरुवा सब स्टसनमै ग्याँस इन्सुलेटेड प्रणालीमा आधारित (जिआईएस)४०० केभीसब स्टेसनकोनिर्माण अन्तिम चरणमा पुगेको छ । ४०० केभी सब स्टेसन निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सब स्टेसन अर्को ठूलो हब बन्नेछ ।

अरुण तथा तमोर नदी र त्यसका सहायक खोलामा निर्माण गरिएका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् कोसी  करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सब स्टेसनमा जोडिने छ । कोसी करिडोर अन्तर्गत वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) खण्ड र वसन्तपुरमा २२० केभीका सब स्टेसनको निर्माण ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख शुक्र देवकोटाले जानकारी दिए । 

कोसी कोरिडोरको २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत सुनसरीको इनरुवाबाट सङ्खुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटार सम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरिएको छ भने टावरको एक तर्फ मात्र तार तानिएको छ । 

अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैकले दिएका सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रवाह भएको छ । 

कोसी कोरिडोर प्रसारण लाइन आयोजनामार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब एक हजार  मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि बसन्तपुरसम्म करिब एक हजार मेगावाट र बसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाटविद्युत प्रसारण गर्न सकिन्छ । 

अरुण र तमोर नदी र तिनीहरूका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा आबद्ध गर्न निर्माणाधीन कोसी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो । 

प्रदेश १ का भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी कोरिडोरको निर्माण गरिएको हो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता (पिपीए) गरिसकेको छ । 

  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार ११:४४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया