सावधानी नपनाउँदा पर्यटकका लागि जोखिमपूर्ण गन्तव्य बन्दै नुनथर

रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको धार्मिक पर्यटकीय स्थल नुनथर पर्यटकका लागि जोखिमपूर्ण गन्तव्य बनेको छ । चन्द्रपुर नगरपालिका–१ मा रहेको धार्मिक पर्यटकीय स्थल नुनथर पर्यटकले सावधानी नअपनाउँदा र स्थानीय प्रशासनले आवश्यक ध्यान नदिँदा जोखिमपूर्ण बनेको हो । 

यहाँ बर्सेनि ६/७ जना पर्यटकको ज्यान गइरहेको स्थानीयको भनाइ छ । गत ३१ असार र १८ असारमा मात्रै नुहाउन नदी पसेका तीन जना पर्यटकको ज्यान गयो । गर्मीको समयमा मेला लाग्ने र वनभोजलगायतको गन्तव्यस्थल बन्ने गरेपनि नदीको गहिराइ र जोखिमको ख्याल नगरी पौडी खेल्न पस्दा पर्यटकको ज्यान जाने गरेको स्थानीयको भनाइ छ । 

नुनथर मधेस प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्छ । धेरै अगाडि यस क्षेत्रमा प्रशस्त नुन पाइने र यस क्षेत्रको माटो पनि नुनिलो रहेकोले गाईवस्तुहरू यहाँ चर्न जाँदा वागमतीको पानी पिइसकेपछि त्यहाँको माटो चाट्ने गरेकाले यस क्षेत्रको नाम नुनथर रहन गएको किंवदन्ती छ ।

नुनथरमा वर्षको बाह्रै महिना आन्तरिक तथा वाह्य पर्यटक आउने गरेका छन् । रौतहट, मकवानपुर, सर्लाही र सिन्धुली गरी ४ वटा जिल्लासँग सीमाना जोडिएको यस क्षेत्रमा नेपाल मात्र नभएर भारतका विभिन्न स्थानबाट पनि पर्यटक घुम्न तथा पिकनिक खान आउने गर्छन् । नुनथर क्षेत्रमा साउनमा विभिन्न नेपाल तथा भारतका विभिन्न स्थानबाट बोलबम यात्रामा आउने हिन्दू भक्तजनको घुँइचोसमेत लाग्ने गर्छ । 

सो स्थानमा वागमती नदी स्थिर देखिए पनि गहिरो र भूमरीयुक्त भएकाले अचानक डुब्ने गरेको स्थानीय सुरेन्द्र सापकोटाले बताए । उनले यसरी बर्सेनि सरदर ५–६ जना नुनथर घुम्न आउनेहरू वागमती नदीमा पौडी खेल्न जाँदा डुबेर मृत्यु हुने गरेको बताए । 

तीर्थयात्रा र पर्यटन गर्न आएकाहरू वागमती नदीमा पौडी खेल्न, नुहाउन जाने गरेकाले नदीमा डुबेर बेपत्ता हुने जोखिम उच्च रहेको स्थानीय लक्ष्मण न्यौपानेले बताए । क्षेत्र विकास समिति मातहत रहेको नुनथर क्षेत्रका मानिसलाई डुब्नबाट जोगाउन समितिले विशेष पहल गर्नुपर्ने उनको माग छ ।



धेरै मानिस डुबेर बेपत्ता तथा मृत्यु भएपछि नदी किनारको ठूलो ढुङ्गामा ‘खतरा’ लेखिए पनि पर्यटकले त्यसको बेवास्ता गर्ने गरेका इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए । उनले सो संकेतलाई बेवास्ता गर्दै नदीमा पर्यटक पौडी खेल्न जाने गरेकाले धेरै दुर्घटना निम्तिएको बताए ।



  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १४:३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया