भीम रावलले भने - गठबन्धनका दलहरूले निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत
फाइल तस्बिर

नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य डा. भीम रावलले विपरीत सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरूले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै नेता रावलले गठबन्धनमा आबद्ध राजनीतिक दलहरूको आ–आफ्नो सिद्धान्त भएको बताए  । उनले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत हुने बताए । 

‘पाँच दलीय गठबन्धनका बैठकहरू हेर्दा ती राजनीतिक दलहरूले विपरीत सिद्धान्त हुँदाहुँदै पनि तालमेल गर्ने कुरा अगाडी सारेको हामीले पाएका छौँ । यसरी आम निर्वाचनमा विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्ने कुरा यो नेपालको संविधानको धारा २६९ को विरुद्धमा छ,’ रावलले भने, ‘अहिले जो जो नेताहरू त्यो पाँच दलको सबभन्दा माथिल्लो तहमा हुनुहुन्छ । उहाँहरूले के कुरा सम्झना गर्नुपर्छ भने नेपालको संविधान निर्माण गर्ने बेलामा, मस्यौदा गर्ने बेलामा उहाँहरूले यो दलीय प्रतिस्पर्धामा जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा माग गर्ने कुराप्रति उहाँहरूको प्रतिबद्धता थियो भन्ने कुरा यति बेला उहाँहरूले स्मरण गर्नुपर्छ ।’ 

उनले जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्नु गलत भएको बताए । नेता रावलले यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्त हीन, आर्दशहीन र गन्तव्य हीन दिशातर्फ धकेल्ने बताए ।  आगामी निर्वाचनमा सबै राजनीतिक दलहरूले आ–आफ्नो सिद्धान्त र नीतिमा अगाडी बढेर आफ्नो घोषणापत्रका आधारमा मत माग्नुपर्ने उनको भनाई छ । 





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १४:३३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया