घरेलु टोली भारतले साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बंगलादेशलाई अतिरिक्त समयमा ५-२ गोल अन्तरले हराउँदै भारत लगातार दोस्रो पटक विजेता बनेको हो ।
भारतलाई जित दिलाउन गुर्किरत सिंहले चार तथा हिमान्सु जान्ग्राले एक गोल गरे । बंगलादेशका मोहमद रोजन र शाहीम मियाले एक/एक गोल गरे ।
रोमान्चक खेलमा सुरुवाती अग्रता भारतले नै बनाएको थियो । दोस्रो मिनेटमा गुर्किरत सिंहले पेनाल्टीमार्फत गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा मोहमद रोजनले बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याए ।
४८ औं मिनेटमा शाहीम मियाले गोल गर्दै बंगलादेशलाई २-१ को अग्रता दिलाए । ६० औं मिनेटमा गुर्किरतले व्यक्तिगत दोस्रो गोल भारतलाई २-२ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको निर्धारित ९० मिनेटमा थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा भारतले तीन गोल थप्यो । ९२ औं मिनेटमा हिमान्सुले गोल गर्दै भारतलाई ३-२ को अग्रता दिलाए ।
९३ औं मिनेटमा गुर्किरतले ह्याट्रिक पूरा गर्दा भारत ४-२ ले अघि बढ्यो । ९९ औं मिनेटमा गुर्किरतले व्यक्तिगत चौंथो गोल गर्दै भारतलाई ५-२ को जित दिलाए । यस जितसँगै भारतले लिग चरणमा व्यहोरेको हारको बदला पनि लिएको छ ।
बंगलादेशले लिग चरणमा भारतलाई २-१ ले हराएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।