प्रतिनिधिसभा निर्वाचन : प्रधानमन्त्री देउवाको गृहप्रदेशमा कुन पार्टीको पल्लाभारी?
फाइल तस्वीर

सरकारले आगामी ४ मंसिरका लागि संघीय र प्रादेशिक निर्वाचनको मिति घोषणा गरिसकेको छ । आसन्न निर्वाचनका लागि पनि सत्तारुढ पाँच दलले चुनावी तालमेल गर्ने सहमति गरिसकेका छन् । 

सिट बाँडफाँट गर्नका लागि सत्तारुढ दलले कार्यदल गठन गरेका छन् । स्थानीयपछि अब संघ र प्रदेश चुनावमा पनि सत्ता गठबन्धनको मुख्य टक्कर नेकपा एमालेसँग हुनेछ । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धन थियो भने कांग्रेस एक्लै चुनावी मैदानमा थियो । 

यसपटक संसदको ठूलो दल भए पनि एमाले प्रतिपक्षमा छ । एमालेलाई सडकमा ल्याएका पाँच दलीय गठबन्धन तालमेल साथ चुनावी मैदानमा होमिँदै छन् । स्थानीय निर्वाचनमा पनि तालमेल गरेर चुनाव लडेको कांग्रेस सबैभन्दा बढी स्थान जितेको छ भने एमाले दोस्रो स्थानमा झरेको छ । माओवादी केन्द्र तेस्रो स्थानमा कायमै रहँदा एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी चौथो स्थानमा छ । 

सत्ता गठबन्धन तालमेल गरेर जाँदा एमालेलाई चुनौती थपिने देखिन्छ । स्थानीय तह निर्वाचनको मत परिणामलाई विश्लेषण गर्दा संघ र प्रदेशको चुनावमा पनि गठबन्धन नै अगाडि आउने देखिन्छ । यसैबीच, आज प्रधानमन्त्री शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमको स्थानीय तहको नतिजाको बारेमा चर्चा गर्दैछौं :

९ जिल्ला रहेको  सुदूरपश्चिममा ८८ वटा स्थानीय तह छन् । यहाँको कुल जनसंख्या २७ लाख ११ हजार २ सय ७० रहेको छ । सुदूरपश्चिममा एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका रहेका छन् । 

एक मात्र उप-महानरपालिका रहेको कैलालीमा १३ स्थानीय तह छन् । कैलाली यहाँको सबैभन्दा बढी जनसंख्या भएको जिल्ला हो । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा कैलालीको चारवटा स्थानीय तहको प्रमुख/अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीले जितेको छ । उसले एउटा नगर उपप्रमुख र दुईवटा उपाध्यक्षसमेत जितेको छ ।



कैलालीमा नेपाली कांग्रेसले तीनवटा प्रमुख/अध्यक्ष र पाँच वटा उपप्रमुख/उपाध्यक्षमा जितेको छ । नेकपा एमालेले दुई स्थानमा प्रमुख/अध्यक्ष र तीन स्थानमा उपप्रमुख/उपाध्यक्ष जितेको छ ।  नेकपा माओवादी केन्द्र दुई स्थानमा प्रमुख/अध्यक्ष र दुई स्थानमा उपाध्यक्ष/उपप्रमुखमा विजयी भएको छ । 

एकीकृत समाजवादीले जिल्लाको घोडाघोडी नगरपालिका प्रमुख मात्र जितेको छ । प्रदेशका एक मात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले जितेका छन् ।



कञ्चनपुरमा ९ वटा स्थानीय तह छन् । जसमध्ये नेपाली कांग्रेसले पाँच वटा प्रमुख/अध्यक्ष र सात स्थानमा उपप्रमुख/उपाध्यक्ष जितेको छ । यहाँ एमालेले तीन प्रमुख/अध्यक्ष र दुई उपप्रमुख/उपाध्यक्ष जितेको छ । 

माओवादी केन्द्रले बेलौरी नगरपालिका प्रमुखमा मात्रै जित हासिल गरेको छ । उता हिमाली जिल्ला बझाङमा १२ वटा स्थानीय तह छन् । जसमध्ये कांग्रेसले ६ स्थानमा प्रमुख/अध्यक्ष जितेको छ ५ स्थानमा उपप्रमुख/उपाध्यक्ष जितेको छ । 

एमालेले तीन गाउँपालिका अध्यक्ष जितेको छ । उसले दुई स्थानमा गाउँपालिका उपाध्यक्ष जितेको छ । माओवादी केन्द्रले दुई स्थानमा गाउँपालिका अध्यक्ष र तीन स्थानमा उपमेयर/उपाध्यक्ष जितेको छ । 

त्यस्तै, एकीकृत समाजवादीले एक स्थानमा गाउँपालिका अध्यक्षमा जितेको छ । उसले दुई स्थानमा गाउँपालिका उपाध्यक्ष जितेको छ । बझाङमा ६ वटा स्थानीय तह प्रमुख/अध्यक्ष जितेर नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । बाजुराका ११ स्थानीय तहमध्ये ६ स्थानमा प्रमुख/अध्यक्ष र पाँच स्थानमा उपप्रमुख र उपाध्यक्षसहित एमाले पहिलो पार्टी छ ।

जिल्लामा कांग्रेसले तीनवटा स्थानीय तहमा प्रमुख/अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । बुढीनन्दा नगरपालिका उपप्रमुखमा स्वतन्त्रबाट रामबहादुर बोहरा विजयी भएका थिए । बाजुरामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले नगरपालिका तथा गाउँपालिकामा प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षमा खाता खोल्न सकेका छैनन् ।

अछाममा १० वटा स्थानीय तह छन् । जसमध्ये ७ स्थानमा प्रमुख/अध्यक्ष र ४ स्थानमा उपप्रमुख/उपाध्यक्ष जितेर कांग्रेस पहिलो पार्टी बनेको छ । एमालेले दुई स्थानमा प्रमुख र चार स्थानमा उपप्रमुख जितेको छ । माओवादी केन्द्रले एक स्थानमा गाउँपालिका अध्यक्ष जितेको छ । अछाममा एकीकृत समाजवादीले दुई स्थानमा उपप्रमुख/उपाध्यक्ष मात्र जितेको छ । 

डोटीमा ९ वटा स्थानीय तह छन् । जसमध्ये कांग्रेसले सात स्थानमा प्रमुख/अध्यक्ष र आठ स्थानमा उपप्रमुख/उपाध्यक्ष जितेको छ । डोटीमा एमालेले एक स्थानीय तह मात्र जितेको छ । माओवादी केन्द्रले बोगटान गाउँपालिकाको नेतृत्व गरिरहेको छ ।

डडेल्धुराका सात स्थानीय तहमध्ये ५ तहको प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । नेकपा माओवादी केन्द्रले यहाँ दुई स्थानीय तहमा अध्यक्ष र उपाध्यक्षमा जित हात पारेको छ । डडेल्धुरामा अन्य दलले शीर्ष पदमा जित हासिल गर्न सकेका छैनन् । डडेल्धुरा प्रधानमन्त्री देउवाको गृहजिल्ला पनि हो । आसन्न चुनावमा पनि उनी यहीँबाट उम्मेदवारी दिने तयारीमा छन् । 

बैतडीका १० स्थानीय तहमध्ये कांग्रेसले ४ स्थानमा प्रमुख/अध्यक्ष र ५ स्थानमा उपप्रमुख/उपाध्यक्ष जितेको छ । त्यस्तै, एमालेले चार स्थानमा प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष जितेको छ । 

माओवादी केन्द्रले मेलौली नगरपालिका प्रमुख र पाटन नगरपालिकामा उपप्रमुख जितेको छ । डिलासैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट सन्तोष प्रकाश जोशी विजयी भएका छन् । 
 
दार्चुलामा ९ स्थानीय तह छन् । यहाँ एमालेले ५ स्थानमा प्रमुख/अध्यक्ष र दुई स्थानमा उपप्रमुख/उपाध्यक्ष जितेको छ । दार्चुलामा कांग्रेसले पाँच स्थानमा उपप्रमुख/उपाध्यक्ष मात्रै जितको छ । 

नेकपा माओवादी केन्द्रले चार स्थानमा प्रमुख/अध्यक्ष र दुई स्थानमा उपप्रमुख/उपाध्यक्ष जितेको छ । एकीकृत समाजवादीले दार्चुलामा दुई स्थानमा उपप्रमुख/उपाध्यक्ष जितेको छ ।   

सुदूरपश्चिममा यसअघि ३९ सिट ल्याएर पहिलो दल बनेको एमाले यसपटक २५ पालिकामै सीमित भएको छ । अघिल्लो चुनावमा ३८ पालिका जितेर दोस्रो दल बनेको कांग्रेस यस पटक ४० पालिका जितेर पहिलो बनेको छ । यसअघि १० पालिका जितेको माओवादी यसपटक बढाएर १४ पालिका पुर्याएर तेस्रो स्थानमा छ । 

समग्रमा सुदूरपश्चिममा कांग्रेसबाट १ हजार ६ सय ९८, नेपाल एमालेबाट १ हजार १ सय ९५ र माओवादी केन्द्रबाट ४ सय ५४ उम्मेदवार निर्वाचित भएका छन् । त्यस्तै, सुदूरपश्चिममा एकीकृत समाजवादीबाट १ सय ४६, नागरिक उन्मुक्ति पार्टीबाट ९९, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २२, जनता समाजवादी पार्टी नेपालबाट ९, नेपाली कांग्रेस वीपी सात, नेपाल लोकतान्त्रिक पार्टीबाट दुई र स्वतन्त्रबाट ६७ जना उम्मेदवार निर्वाचित भएका छन् । सुदूरपश्चिममा सबै पदमा गरी ३ हजार ६ सय ९९ जना उम्मेदवार निर्वाचित भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा ३२ सिट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २१ जना समानुपातिक गरी ५३ प्रदेशसभा सदस्यका लागि निर्वाचन भएको थियो । वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)ले २० सिटमा उम्मेदवारी दिएकोमा १७ सिटमा विजयी हासिल गर्दै २ लाख ९१ हजार ३ सय ५८ अर्थात् ३२.११ प्रतिशत मत प्राप्त गरेको थियो । एमालेले समानुपातिकतर्फ २ लाख ६० हजार ९ सय ५५ अर्थात् ३२.९९ प्रतिशत मत प्राप्त गरी ८ जना सदस्य निर्वाचित गरेको थियो ।

वाम गठबन्धनका तर्फबाट १२ सिटमा उम्मेदवारी दिएको नेकपा (माओवादी केन्द्र)ले १० स्थानमा विजयी हासिल गर्दै १ लाख ६६ हजार ५ सय १३ अर्थात् १८.३५ प्रतिशत मत प्राप्त गरेको थियो । माओवादीले समानुपातिकतर्फ १ लाख ४२ हजार ७ सय २ अर्थात् १८.०४ प्रतिशत मत प्राप्त गरी ४ जना सदस्य निर्वाचित गर्न सफल भएको थियो ।

प्रत्यक्षतर्फ ३१ स्थानमा उम्मेदवारी दिएको कांग्रेसले जम्मा ४ स्थानमा निर्वाचित भएर ३ लाख ५७ हजार २ सय ४ मत अर्थात् ३९.३७ प्रतिशत मत प्राप्त गर्न सफल भएको थियो । कांग्रेसले समानुपातिकतर्फ २ लाख ९५ हजार ७ सय २९ अर्थात् ३७.३८ प्रतिशत मत प्राप्त गरी ८ जना सदस्य निर्वाचित गरेको थियो ।

विगतको प्रदेशगत चुनावको मत परिणाममा नेकपा एमाले सुदूरपश्चिम प्रदेशमा पहिलो पार्टी बनेको थियो । तर, हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेको छ । अहिले सत्तारुढ पाँच दलीय गठबन्धनले चुनावी तालमेल गरेर जाने निर्णयले एमालेलाई थप चुनौती थपेको छ ।

  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार १६:४३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया