जानकी मन्दिर आसपासका फुटपाथ व्यापारीहरूले जनकपुरधामका नगरप्रमुखविरूद्ध विरोध प्रदर्शन गरेका छन् । नगरप्रमुख मनोजकुमार साहको निर्देशनमा सडक छेउछाउ फुटपाथमा पसल थापेर व्यवसाय गर्दै आएका साना तथा खुद्रा व्यापारीले आइतबार विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले स्थानीय जनकपुर युथ डेभलपमेन्ट फोर्स र जानकी युथ नेटवर्क नेपालको समन्वयमा नगर परिक्रमा गर्दै विरोध र्याली निकालेका थिए । फुटपाथ खाली गरेको एक साताभन्दा बढी समय बिते पनि उपमहानगरले कुनै व्यवस्थापन नगरेको उनीहरूको गुनासो छ ।
साना तथा खुद्रा पसल थापेर व्यापार गरी जीविकोपार्जन गर्दै आए पनि आफूहरूको समस्याप्रति नगरप्रमुख साह गम्भीर नरहेकोले अन्तोगत्वा विरोध प्रदर्शन गरेको एक खुद्रा व्यापारीले बताए ।
व्यापारीहरूले मेयर साहले विपन्न तथा गरिब वर्गका लागि वैकल्पिक व्यवस्थापन गर्न नचाहेकाले बाध्य भएर आन्दोलन गरेको उनले बताए । उनले आफूहरूलाई व्यवस्थापन नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
स्थानीय युवा अगुवा सुशील कर्णले सहज र सहमतिमा कुनै पनि बाधा र अवरोध नगरी समाज, स्थानीय सरकार र सरोकारवालाहरूको आग्रहमा फुटपाथमा व्यवसाय गर्नेहरूले मन्दिर वरिपरिको फुटपाथ खाली गरे पनि अहिले आएर उनीहरूको व्यवस्थापन नहुँदा जीविकोपार्जनका लागि कडा आन्दोलन बाहेक अर्को कुनै विकल्प नरहेको बताए ।
उनीहरुले धर्म संस्कृतिसँगै जोडिएका सामग्री बेच्ने फुटपाथका व्यापारीको व्यवस्थापन गर्नु लोकतान्त्रिक परिवेशमा स्थानीय सरकारकै दायित्व रहेकोले तीन दिनभित्र आफूहरुको समुचित व्यवस्थापन गर्न मागसमेत गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।