कानुनअनुसार नमिल्ने भएकाले करारका शिक्षक हटाउनुपर्‍यो : नगरप्रमुख क्षेत्री

महोत्तरी बर्दिबासका नगरप्रमुख प्रह्लाद क्षेत्रीले शिक्षकहरूकै कारणले नगर शिक्षकको करार अवधि थप गर्न नसकिएको बताएका छन् । करार अवधि सकिएपछि नगर शिक्षकले करार म्याद थप गर्न आफैँ बेवास्ता गरेको हुनाले कानुनअनुसार करार नवीकरण नभएको नगरप्रमुखको भनाइ छ ।

करार अवधि सकिएर सेवामुक्त भएका शिक्षकसँग छलफल गर्दै नगरप्रमुख क्षेत्रीले करार अवधि थप गर्न कुनै कानुनी आधार नरहेको हुनाले शिक्षक नै स्वतः पदमुक्त भएको बताए ।

बर्दिबास नगरपालिकामा अघिल्लो स्थानीय सरकारले प्राथमिक तहदेखि माध्यामिक तहसम्म ६२ जना शिक्षक नियुक्त गरेको थियो । नगरले प्रक्रियाअनुसार करार सेवामा कार्यरत शिक्षकलाई सेवामा निरन्तरता दिन नसक्ने बताएपछि शिक्षक भने आन्दोलित भएका छन् ।

आज बर्दिबास नगरपालिकाको कार्यालयमा झण्डै ३५ जना शिक्षक ज्ञापनपत्र बुझाउन पुगेका थिए । नगरप्रमुख प्रह्लाद क्षेत्रीलाई ज्ञापनपत्र बुझाउँदै शिक्षकले चरणबद्ध आन्दोलनको घोषणासमेत गरेका छन् । नगरभित्र करारका शिक्षकलाई करार नवीकरण गर्नुपर्ने अन्यथा धर्नाका कार्यक्रम गर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

शिक्षकले २३ देखि २९ सम्म चरणबद्ध संघर्षका कार्यक्रम गर्ने सार्वजनिक गरेका छन् । २३ साउनमा ३ घण्टा धर्ना, २४ मा ५ घण्टा धर्ना, २५ मा ६ घण्टा धर्ना, २६ मा काम रोक्ने र विद्यार्थीसहितको आन्दोलन, २९ मा नगरपालिका घेराउ र वाकी कार्यक्रम अर्को साता सार्वजनिक गर्ने शिक्षकको भनाइ छ ।

तर नगरपालिका भने पुनः करार नवीकरण नगर्ने निष्कर्षमा पुगेको छ । अर्को प्रक्रियाबाट बरु पुरानालाई प्राथमिकता दिने, तर नवीकरण गर्न नसकिने नगरको अडान छ ।





  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार १८:१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया