राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनेमा कुनै दुविधा नरहेको बताएका छन् । सदस्य सचिव घिसिङले मन्त्रिपरिषद्ले मिति तय गरेबमोजिम राखेप तयारीमा जुटिसकेको बताउँदै उनले गण्डकी प्रदेशवासीलाई समेत आफ्नो अपनत्व ग्रहण गर्ने गरी तयारीमा लाग्न आग्रह गरे ।
नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले १३आँं साग सम्पन्न गरिसकेको पोखरामा धेरै भौतिक पूर्वाधार रहेको उल्लेख गर्दै विभिन्न खेलस्थलको लागि आवश्यक मस्यौदासमेत प्राप्त भइसकेको र छिट्टै टुंगोमा पुगिने विश्वास समेत व्यक्त गरे ।
असोज २८ देखि कात्तिक ३ सम्म राष्ट्रिय चाडको रुपमा रहेको प्रतियोगितामा ३६ खेलका ४ सय ७ इभेन्टमा खेल हुने उनले जानकारी दिए । विभिन्न ११ टिममध्ये कम्तीमा ४ टिमले भाग लिए मात्र सो खेल प्रतियोगिताको रुपमा गणना हुने पनि सदस्यसचिव घिसिङले स्पष्ट पारे ।
आगामी भदौ १५ सम्म सबै ११ वटै टिमले आफ्ना खेलाडीको छनोट गरी राखेपमा पठाइसक्नुपर्ने उनले बताए । प्रतियोगितामा एकलतर्फ प्रथम हुनेले २५ हजार तथा टिमतर्फ प्रथम हुनेले १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । साथै राष्ट्रिय रेकर्ड भंग गर्नेले ५० हजार इनाम पाउनेछन् ।
प्रतियोगिताको उद्घाटन र समापन पोखरा रंगशालामै हुनेगरी तयारी भइरहेको सदस्यसचिव घिसिङले जानकारी दिए । प्रतियोगिताका लागि १० लाख रुपैयाँबराबरको ट्रफी (सुनचाँदी जडित) बनाउने कार्य जारी रहेको र सो ट्रफी सातवटै प्रदेशमा पुर्याइने र अन्त्यमा जुन टिम च्याम्पियन हुन्छ उसैलाई हस्तान्तरण गरिने तयारी रहेको राखेपले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।