अमेरिकाले युक्रेनलाई दियो थप अत्याधुनिक हतियार

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनका लागि थप सहयोगको घोषणा गरेको छ । पेन्टागनले युक्रेनका लागि १ अर्ब डलरको नयाँ सैन्य सहयोग घोषणा गरेको हो । पछिल्लो सैन्य सहयोगमा थप हिमर्स प्रणाली मिसाइल समावेश छन् ।

यी मिसाइलले युक्रेनी सेनालाई युद्ध मोर्चाभन्दा धेरै टाढाबाट रुसी फौजलाई हमला गर्न सहयोग गर्ने विश्वास गरिएको छ । प्याकेजमा रुसी विमान र रकेटविरुद्ध सतहबाट हावामा मार हान्ने क्षेप्यास्त्रहरू, थप जेभलिन एन्टि–आर्मर रकेटहरू र अन्य गोला बारूदहरू पनि समावेश रहेको  अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । 

पछिल्ला समयमा रुसले आफ्नो सम्पूर्ण बल पश्चिमी युक्रेनमा केन्द्रित गरेको छ भने युक्रेनले रुसले कब्जा गरेको खेर्सन सहरलाई पुनः फिर्ता गर्ने दाउमा रणनीतिक युद्ध गरिरहेको छ । 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रसियाले ‘आणविक आतंक’ छेडेको आरोप लगाउँदै मस्कोको आणविक क्षेत्रमा थप अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको आवश्यकता रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई जापोरिज्जिया आणविक प्लान्टमा पहुँच दिन आग्रह गरेका छन् ।  यसै सप्ताहन्तमा युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा रुसले गोलाबारी गरेको युक्रेनले आरोप लगाएपछि गुटेरेसले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई जापोरिज्जिया आणविक प्लान्टमा पहुँच दिन अनुरोध गरेका हुन् ।

यसैबीच, २४ फेब्रुअरीमा युक्रेनमाथि भएको रुसी हमलामा अहिलेसम्म ८० हजार रुसी मारिएका र घाइते भएका हुन सक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक वरिष्ठ अधिकारीले दाबी गरेका छन् ।



रक्षा मन्त्रालयका उपसचिव कोलिन कहलले यस्तो दाबी गरेका हुन् । 



  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार ९:२५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया