मानव सेवा आश्रम सडक मानवमुक्त अभियानमा सक्रिय भएको छ । उक्त संस्था नेपालमा बेसहारा भएर सडकपेटी र सार्वजनिक स्थलमा कष्टकर जीवनयापन गर्दै आएका मानिसको उद्धार गर्दै आएको छ ।
मानव सेवा आश्रम स्थापना भएको १० वर्ष पुग्नै लागेको छ । भदौको दोस्रो हप्ताबाट आश्रम स्थापनाको दशौं वर्ष पार गर्दैछ । यो अवधिमा आश्रमले धेरै असहायको सहयोगको सारथि बनेको छ ।
आश्रमको सक्रियताका कारण अहिले मुख्य स्थानमा सडक मानव देखिन छोडेका छन् । स्थापना कालदेखि हालसम्म ७ हजार २ सय १७ जनालाई उद्धार गरिएको आश्रमको मुख्य कार्यालय हेटौंडाका अभियान्ता होमनाथ पौडेलले जानकारी दिए । उनका अनुसार उद्धार गरिएकामध्ये ४ हजार ४४० पुरुष र २ हजार ६७५ महिला रहेका छन् ।
उद्धार गरिएका सडक मानवमध्ये यो अवधिमा २ हजार ७ सय ६० जनालाई परिवारसँग पुनर्मिलन गराएको आश्रमले जनाएको छ । जसमध्ये पुरुषको संख्या १५ सय ६९ जना र महिला ११ सय ९१ जना रहेको जनाएको छ ।
हाल आश्रमका सातै प्रदेशको १९ जिल्लामा २३ सेवा केन्द्रमार्फत एक हजार १ हजार ४ सय ८३ जना आश्रित रहेका छन् । जसमा ८ सय ५२ पुरुष र ६ सय ३० महिला रहेका आश्रमको मुख्य कार्यालय हेटौंडाले जनाएको छ ।
हाल हेटौंडा आश्रममा १ सय ९८ जना आश्रित रहेका पौडेलले बताए । जसमा १ सय १४ पुरुष र१ सय ८४ महिलाले आश्रय लिइरहेका छन् । मानवसेवा आश्रमले सडकमा बेवारिसे अवस्थामा रहेका मानिसको उद्धार गरी उनीहरूलाई पुनःस्थापना गर्ने र स्वास्थ्य अवस्था राम्रो भएपछि घर परिवारबारे जानकारी लिने गरेको छ ।
आश्रममा प्रत्येक महिनाको पहिलो हप्तामा मानसिक रोग विशेषज्ञबाट उपचार हुने गरेको छ । आश्रममा सेवाका लागि दुई नर्सको व्यवस्था पनि गरिएको छ । आश्रममा महिला र पुरुष छुट्टै राख्ने व्यवस्था पनि छ ।
परिवारबारे जानकारीपछि पुनःमिलन गराउने गरिएको पौडेलको भनाइ छ । उद्धार गरिएका व्यक्तिले आश्रममा आफ्नो इच्छाअनुसार काम गर्ने गरेको कार्यालयले जनाएको छ । अहिलेसम्म देशका दुईवटा प्रदेशहरू नै सडक मानवमुक्त प्रदेश घोषणा भइसकेका छन् । हालसम्म कर्णाली र गण्डकी सडकमानव मुक्त प्रदेश घोषणा भएका हुन् ।
त्यस्तै, बागमती प्रदेशको मकवानपुर, गोर्खा पनि सडक मानवमुक्त जिल्ला घोषणा भइसकेका छन् । वीरगञ्ज महानगरपालिका र भरतपुर महानगरपालिका पनि सडक मानवमुक्त घोषणा भएका छन् । यो अभियानलाई निरन्तरता दिँदै देशलाई नै सडक मानवमुक्त बनाउने उद्देश्य रहेको मानसेवा आश्रमले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।