फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध : बालेन साह

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) साहले फोहोर बोक्ने तथा व्यवस्थापनमा प्रयाेग गरिएका साधनमाथिको तोडफोड जघन्य अपराध भएको बताएका छन् । 

अज्ञात व्यक्तिले सोमबार राति बन्चरे डाँडामा रहेका फोहोर बोक्ने र व्यवस्थापनमा प्रयाेग गरिने साधनमाथि तोडफोड भएपछि मेयर साहले उक्त कार्य जघन्य अपराध भएको प्रतिक्रिया दिएका हुन् । 

विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने प्रयास नगर्न आग्रह गरेका उनले फोहोर बोक्ने साधनमाथिको तोडफोड घटनाको अनुसन्धान गर्न र सुरक्षाको व्यवस्था गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् । 

सवारीसाधन तोडफोड गर्नलाई कडा कारबाही गर्न माग गर्दै मेयर साहले फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा यस घटनालाई लिएको बताएका छन् । 

सवारीसाधन तोडफोड घटनालाई लिएर मंगलबार अपरान्ह मेयर साहले फेसबुकमा लेखेका छन् :

फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । बर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ ।



यसै क्रममा हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ । 

कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो । कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ ।



केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिँदैन । विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अबरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।
 

  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार १५:३३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया