‘नागरिकता ऐन प्रमाणीकरणमा राष्ट्रपतिबाट किन ढिलाइ ?’

तराई–मधेस लोकतान्त्रिक पार्टीले नेपाल नागरिकता ऐन संशोधन गर्न पारित भएको विधेयकको शीघ्र प्रमाणीकरणको समेत माग गरेको छ ।
 
लामो छलफलपछि नेपाल नागरिकता ऐन संशोधन विधेयक संघीय संसदबाट पारित भइसकेपछि पनि त्यसको प्रमाणीकरणमा राष्ट्रपतिबाट भइरहेको अनावश्यक ढिलाइले चिन्ता उत्पन्न गरिरहेको तमलोपाले ठहर गरेको छ ।

तमलोपाको मंगलबारको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष वृषेशचन्द्र लालको अध्यक्षतामा मंगलबार जनकपुरधाममा बसेको केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।
 
बैठकले आगामी निर्वाचनमा अन्य राजनीतिक दलहरुसँग सहकार्य, गठबन्धन लगायतका विषयमा सम्पर्क, छलफल तथा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्न वरिष्ठ नेता डा. विजयकुमार सिंहलाई अभिभारा दिने सर्वसम्मतिबाट निर्णय गरिएको पार्टीका केन्द्रीय सदस्य उमेशकुमार मण्डलले जानकारी दिए ।  

बैठकले संविधान बमोजिम नेपालको योग्य नागरिक भएर पनि नागरिकताको प्रमाणपत्रको अभावमा नागरिक अधिकारको उपभोग तथा रोजगार, व्यवसाय, स्वास्थोपचार, भ्रमण लगायतका कार्यहरु गर्न असमर्थ नागरिकहरुको दुःखको अन्त्य नभइरहेको अवस्थामा नागरिकता जस्तो संवेदनशील विषयमा यसरी भइरहेको अस्वभाविक ढिलाइ उचित नभएको तथ्यप्रति राष्ट्रपतिको ध्यानाकर्षण गराउँदै नागरिकतासम्बन्धी विधेयकको शीघ्र प्रमाणीकरणको मागसमेत गरेको छ ।

निर्वाचनको मिति घोषणा भइसकेपछि पनि प्रतिनिधिसभा क्रियाशील रहेको भन्दै तमलोपाले लोकतान्त्रिक अभ्यासको मान्य व्यवहारअनुसार लोकतान्त्रिक पद्धतिमा कुनै पनि निकाय निर्वाचनमा जानेबित्तिक्कै सो निकाय स्वतः निष्क्रिय अवस्थामा परिणत हुने जिकिर गरेको छ ।
 
निर्वाचनको मिति घोषणा भइसकेपछि पनि प्रतिनिधिसभा र प्रदेशसभाहरू क्रियाशील रहिरहनु हास्यास्पद, अस्वस्थ परम्पराको थालनी र लोकतान्त्रिक चुनावको मान्यताको विपरीत रहेको पार्टी अध्यक्ष लालले बताए ।





  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार १९:९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया