कर्मचारी भर्नासम्बन्धी सूचना तत्काल सच्याउन माग

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधामले पछिल्लो समय कर्मचारी भर्नासम्बन्धी आह्वान गरेको सूचनाउपर दलित अधिकारकर्मीहरुले विरोध जनाएका छन् । बुधबार प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले सो सूचना तत्कालै सच्याउन माग गरेका हुन् ।
 
ध्यानाकर्षण पत्रमा मधेस जनविद्रोह र मधेसी जनताको बलिदानीबाट देशमा स्थापित भएको संघीयताको प्रारुपबमोजिम प्रदेश लोकसेवा आयोगले प्रदेशसभाबाट पारित गराएको प्रदेश निजामती सेवा ऐन, ०७७ मा समूहगत आरक्षणको स्पष्ट व्यवस्था भए पनि प्रदेश सरकारको अधिनमा रहेको यस प्रतिष्ठानले उक्त आरक्षणसम्बन्धीको व्यवस्थाको अपहेलना गरी कर्मचारी भर्नासम्बन्धी सूचना आह्वान गर्नु मधेस आन्दोलन र सहिदहरुको सपनालाई अपमान गर्नुसरह रहेको जिकिर गरिएको छ । 

कर्मचारी भर्नासम्बन्धी पछिल्लो सूचनालाई रद्द गरी ३ दिनभित्र समूहगत आरक्षणको व्यवस्था गरी कर्मचारी भर्नाको बन्दोबस्त मिलाउनसमेत आग्रह गरिएको छ । आफूहरुको आग्रहलाई अस्वीकार गरिए अधिकारकर्मी, न्यायप्रेमी र सरोकारवालाहरु संघर्षको कार्यक्रम अगाडि बढाउन बाध्य हुने चेतावनीसमेत दिइएको छ ।
 
समाजवादी दलित मुक्ति संगठन मधेस प्रदेशका कार्यवाहक अध्यक्ष रामो महराको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाउन पुगेको टोलीमा संयुक्त दलित संघर्ष समिति मधेस प्रदेशका चन्देश्वर दास, राष्ट्रिय मुसहर उत्थान समाजका केन्द्रीय अध्यक्ष चन्देश्वर सदा, डोम समुदाय उत्थान नेपालका धनुषा जिल्ला अध्यक्ष सरोज मल्लिक डोम, नेपाल सरसफाइ कर्मचारी संघका अध्यक्ष इनद्रजित मेस्तर, दलित महिला संघ धनुषाकी सरस्वती मण्डललगायतको सहभागिता थियो ।





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १८:३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया