शैक्षिकसत्र सुरु भएको चार महिना पुग्दा पनि कर्णालीमा पुगेनन् पाठ्यपुस्तक

कालीकोटको पचालझरणा गाउँपालिकाका सामुदायिक विद्यालयमा अहिले पनि पाठ्यपुस्तक पुगेका छैनन् । गाउँपालिकामा २७ वटा सामुदायिक विद्यालय छन् । शैक्षिकसत्र सुरु भएको चार महिना बित्न लाग्दासमेत विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेका छैनन् । 

पचालझरणा गाउँपालिकाका शिक्षा शाखा प्रमुख नमराज शाही भन्छन्, ‘अहिले त हाम्रा विद्यालय बन्द अवस्थामा छन् । यहाँ वर्षे विदा भएको छ । पाठ्यपुस्तकको विषयमा यहाँ पनि अवस्था भने उही नै छ । सबै किताब आइपुगेका छैनन् ।’

यसअघि पालिकास्थित विद्यालयका प्रध्यानाध्यापकको बैठकसमेत बसेको थियो । बैठकमा विद्यालयमा पाठ्यपुस्तक आइनपुगेको प्रध्यानाध्यापकले जनाएको शाहीले बताए । 

उनले भने, ‘प्रध्यानाध्यापकसँगको बैठकपछि कति किताब आए भन्ने विवरण त छैन । तर जहाँसम्म लाग्छ, पालिकामा किताबको समस्या भने यथावतै छ । अब विद्यालय खुलेपछि कति किताबको अभाव छ भन्ने यथार्थ विवरण निकाल्न सकिन्छ ।’

यता, हुम्लाको सिमकोट गाउँपालिकामा २३ वटा सामुदायिक विद्यालय छन् । पालिकाअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको हात अहिलेसम्म पाठ्यपुस्तक पुगेको छैन ।

सिमकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख वर्ष फडेरा भन्छन्, ‘यहाँ एजेन्टमार्फत किताब आइपुग्नुपर्ने हो । तर अहिलेसम्म पनि विद्यालयमा किताब आइपुगेको छैन । सन्दर्भसूचीका आधारमा शिक्षकले पढाउँछन्, विद्यार्थीले त्यही पढ्छन् ।’



‘सिमकोट गाउँपालिकाको अवस्था यस्तो छ, यहाँका अरू पालिकाका विद्यालयको अवस्था झन कस्तो होला ?’ फडेराले प्रश्न गरे । 

सिमकोट गाउँपालिका हुम्लाको सदरमुकामका रूपमा स्थापित छ । जिल्लाको सदरमुकामको विद्यालयमा पाठ्यपुस्तक पुगेको छैन भने अन्य पालिकामा पुग्न सक्ने अवस्थामा शंका गर्न सकिन्छ ।



कर्णालीका हिमाली जिल्लामा मात्र होइन प्रदेशकै राजधानी वीरेन्द्रनगरमा समेत पाठ्यपुस्तकको अभाव छ । वीरेन्द्रनगरस्थित जननमूना माध्यमिक विद्यालयमा समयमा नै पाठ्यपुस्तक प्राप्त नभएपछि विद्यालयले वैकल्पिक माध्यम अपनाएको छ ।

विद्यालयमा पाठ्यपुस्तक नै नआएपछि भने विद्यालयले निजी क्षेत्रका किताब विद्यार्थीका लागि उपलब्ध गराइ अध्ययन–अध्यापन गरिरहेको छ । 

विद्यालयका प्रधानाध्यापक याम श्रेष्ठले भने, ‘सरकारले उपलब्ध गराउने किताब नआएपछि हामीले निजी पब्लिकेशनका किताबबाट विद्यार्थीलाई अध्यापन गराइरहेका छौँ ।’

सामुदायिक विद्यालयमा पाठ्यपुस्तक नै उपलब्ध नभएको भने होइन । तर, कक्षागत रूपमा मात्र केही पाठ्यपुस्तक विद्यालयलाई प्राप्त नभएका मात्र हुन् । 

‘कक्षा ७ को गणित, विज्ञान र स्वास्थ्य, कक्षा ७ को नैतिक शिक्षा, कक्षा ९ को गणित र विज्ञान, कक्षा १० को स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयका पाठ्यपुस्तक विद्यालयले पाएको थिएन’, श्रेष्ठले भने, ‘अंग्रेजी माध्यमका यी किताब नपाएपछि हामीले निजी पब्लिकेशनका किताब विद्यार्थीका लागि उपलब्ध गराउन बाध्य छौँ ।’ 

निजी पब्लिकेशनका पाठ्यपुस्तक खरिद गर्दा सरकारले उपलब्ध गराएको पाठ्यपुस्तक रकम कटाएर बाँकी रकम विद्यार्थीका अभिभावकले खर्च गर्ने गरेको उनले जनाए ।

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको वीरेन्द्रनगरस्थित प्रादेशिक कार्यालय । (तस्विरः पुनम बिसी/फरकधार)

पाठ्यपुस्तक वितरणमा विद्यालय तथा पालिकाले आरोप लगाउन थालेपछि कर्णालीका पुस्तक व्यवसायीले जनक शिक्षालाई यसबारेमा ध्यानाकर्षणसमेत गराएका थिए । ४ देखि १० कक्षासम्मका नेपाली, अंग्रेजी लगायतका विषयका कुल ३५ प्रतिशत पाठ्यपुस्तक कर्णालीमा अभाव रहेको जनाउँदै कर्णालीको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले गत बिहीबार जनक शिक्षालाई ध्यानाकर्षण गराएका थिए ।

‘कर्णालीमा विषयगत रूपमा हजारौँ किताब अभाव छन्’, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, सुर्खेतका अध्यक्ष दिलबहादुर थापाले भने, ‘कर्णालीको अवस्थाबारे हामीले जनक शिक्षालाई ध्यानाकर्षण गराएका छौँ ।’

यसका साथै कर्णालीमा पाठ्यपुस्तक वितरण प्रणालीमा पूर्वाग्राही रही बिक्रि वितरण भइरहेको, बिक्रीको जिल्लागत बिलमा फरक पारिएको व्यवसायीको आरोप छ ।

सरकारी स्वामित्वको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले गत जेठमै सूचना जारी गर्दै आवश्यकता बमोजिमका पाठ्यपुस्तक छपाइ सकिएको जनाएको थियो । २३ जेठमा सार्वजनिक सूचनामा ‘७७ वटै जिल्लामा कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक ढुवानी गरी बिक्रीवितरण भइरहेको’ जनाइएको थियो । 

समयमा पाठ्यपुस्तक नपुग्ने अवस्थाको बहानामा जनक शिक्षाले ‘विगतमा पाठ्यपुस्तक ढुवानी र बिक्रीवितरणको सन्दर्भमा कतिपय अवस्थामा स्थानीय बिक्रेताले पाठ्यपुस्तक प्रादेशिक कार्यालयबाट समयमा नै नलैजाने, स्थानीय बिक्रेतासँग उपलब्ध हुँदाहुँदै पनि विद्यालयले समयमा खरिद नगर्ने जस्ता कारणले विद्यार्थीले समयमा नै पाउनुपर्ने पाठ्यपुस्तक पनि नपाएको अवस्था’ रहेको जनाएको छ ।

तर, यता वीरेन्द्रनगरस्थित जननमूना माध्यमिक विद्यालयका प्रध्यानाध्यापक श्रेष्ठले जनक शिक्षाको केन्द्रीय कार्यालयमा खबर गर्दा पनि पुस्तक नपाएको बताए । उनले भने, ‘पाठ्यपुस्तक नै नपाएपछि हामीले जनक शिक्षाको केन्द्रीय कार्यालयमा नै खबर गरेका थियौँ । एउटा विद्यालयको लागि मात्र भए पनि पुस्तक छपाइ गरि पठाउन सक्छौँ भन्दै आश्वासन दिए पनि पुस्तक पाएनौँ ।’

जनक शिक्षाको भनाइ पनि यस्तै छ । केन्द्रीय कार्यालयका प्रशासन प्रमुख चित्रकुमार आचार्यले टेलिफोन सम्पर्कमा भने, ‘मागको आधारमा हामी आज छापेर भोलि पठाउन सक्छौँ । अहिलेको अवस्थामा भने कर्णालीका लागि किताब बोकेका ट्रकहरू यहाँबाट हिँडिसकेका छन् । किताब पुग्छन् ।’

जनक शिक्षा सामाग्री केन्द्रको वीरेन्द्रनगरस्थित प्रादेशिक कार्यालयका प्रमुख धनबहादुर केसीले भने अभाव रहेका पाठ्यपुस्तक केही दिनमै वीरेन्द्रनगर आइपुग्ने बताए । पाठ्यपुस्तककै लागि संघीय राजधानी काठमाडौं पुगेको जनाउँदै उनले भने, ‘कर्णालीलाई पुग्ने पाठ्यपुस्तक ल्याएको छु ।’ 

केही दिनमा पाठ्यपुस्तक वितरण सुरु हुने केसीले बताए ।

यसअघि पाठ्यपुस्तक अभावका विषयमा संसदीय समितिले समेत सरकारको ध्यानाकर्षण गराएको थियो । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दुईपटक निर्देशन दिएको थियो । पाठ्यपुस्तक अभावका विषयमा सांसदहरूले पटकपटक संसदमा समेत सरकारको ध्यानाकर्षण गराएका थिए ।

  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार २०:२३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया