भक्तपुर २ मा महेश बस्नेत र दीपशिखाको टक्करकाे सम्भावना

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी रहने बताएका छन् । बिहीबार फरकधारसँग कुरा गर्दै दीपशिखाले आफ्नो उम्मेदवारी रहने स्पष्ट पारेका हुन् ।

दीपशिखाले सिन्धुपाल्चोक वा भक्तपुर २ मध्ये कुनै एक क्षेत्रबाट टिकट दिनका लागि गठबन्धनका नेताहरुसँग कुरा गरिरहेको बताए । यसपटक भक्तपुर क्षेत्रनं २ मा वाइसिएलका पूर्वअध्यक्ष र युवा संघका पूर्वअध्यक्षबीच टक्कर पर्ने सम्भावना बढेकाे छ ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति तय गरेको छ । दीपशिखाले प्रतिनिधिसभाका लागि आफ्नो उम्मेदवारी रहनेबारे खुलासा गरेका हुन् । उनले भने, मेरो जन्मथलो सिन्धुपाल्चोक हो । हाल भक्तपुरमा बसोबास छ । आगामी निर्वाचनमा मेरो पनि उम्मेदवारी रहन्छ भन्ने कुरा भएको छ । गठबन्धनले, पार्टीले निर्णय गरेको खण्डमा, टिकट दिएको खण्डमा सिन्धुपाल्चोक र भक्तपुरमध्ये कुनै एक क्षेत्रबाट उम्मेदवारी रहन्छ ।’

भक्तपुर क्षेत्रनं २ मा तुलनात्मक रुपमा माओवादी केन्द्र कमजोर छ । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट एमालेका महेश बस्नेत विजयी भएका थिए । वाम गठबन्धनको साझा उम्मेदवार बनेका बस्नेतले नेपाली कांग्रेसका दमननाथ ढुंगानालाई दोब्बर मतले पराजित गरेका थिए । एमालेले यसपटक पनि बस्नेतलाई ​नै दाेहाेर्याउने पक्काजस्तै छ । 

माओवादी केन्द्रको बलियो जनमत सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ मा रहेको छ । सिन्धुपाल्चोक १ सभामुख तथा माओवादी केन्द्रका नेता अग्नि सापकोटाको क्षेत्र पनि हो । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट गंगाबहादुर तामाङ निर्वाचित भएका थिए ।

अहिले युवाहरुलाई प्राथमिकता दिनुपर्छ भन्ने आवाज उठिरहेको छ, यस सन्दर्भमा तपाईंको विचार के हो ? भन्ने हाम्रो प्रश्नमा दीपशिखाले सबै राजनीतिक दलले युवाहरुलाई उम्मेदवार बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए । युवाहरुलाई प्राथमिकतामा नराखे राजनीतिक दलहरुकै औचित्य नरहने उनले जिकिर गरे । 



उनले भने, ‘सबै राजनीतिक दलहरुले युवाहरुलाई प्राथमिकतामा राख्नुपर्छ । नयाँ अनुहारलाई प्राथमिकता नदिने हो भने स्वतन्त्र आदि इत्यादि भन्नेहरुले राजनीतिक दलको अस्तित्व समाप्त गर्छन् ।’

माओवादी केन्द्रले युवालाई पार्टीभित्र २० प्रतिशत अधिकार दिएको समेत दीपशिखाले दाबी गरे । यो स्थानीय तहको निर्वाचनमा माओवादीबाट ४० प्रतिशत युवाले जितेको उनको भनाइ छ ।



  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १८:२८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया