महोत्तरीबाट छुट्टाछुट्टै दुई घटनाका ६ जना फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय महोत्तरीले छुट्टाछुट्टै दुई घटनाका ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये श्रीमती र सासूलाई आगो लगाई ज्यान मार्ने उद्योग गरी फरार र ज्यानसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पनि छन् ।
 
श्रीमती र सासुको शरीरमा आगो लगाएर फरार रहेको आरोपमा एकजना  र युवकको हत्या गरेको आरोपमा ५ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । गत साउन २१ गते राति ३५ वर्षीया श्रीमती प्रमिलादेवी सदा र ६५ वर्षीया सासू रेशमादेवी सदाको शरीरमा मट्टीतेल छर्केर आगो लगाउने शंकर सदालाई पक्राउ गरिएको हो । 

शंकरलाई नेपाल–भारतको सीमावर्ती क्षेत्रमा पर्ने महोत्तरीको सम्सी गाउँपालिका–६ स्थित सम्सी–कन्हवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । महोत्तरीको भंगहा नगरपालिका–९ कञ्चनवन सखुवा टोलस्थित माइतीमा रहेको बेला साउन २१ गते राति पौने १२ शंकरले प्रमिला र रेशमादेवीको शरीरमा आगो लगाएका थिए । 

घरायसी विवाद हुँदा ज्वाइँले वृद्धा सासू र श्रीमतीलाई मट्टीतेल खन्याएर आगो लगाएका थिए । घटनामा रेसमादेवी सदाको पिठ्युँ, पाखुरा र बायाँ खुट्टा जलेको छ भने छोरी प्रमिलादेवीको हात, खुट्टा र छाती जलेको छ ।

पक्राउ परेका शंकरविरुद्ध ज्यान मार्ने कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारबाट फर्केका शंकर पछिल्लो एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए ।

त्यस्तै, १८ वर्षीय युवकको हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–४ घर भई जनकपुरधाम उपमहानगरपालिका–७ मा डेरा लिई बस्दै आएका ३२ वर्षीय जितकुमार यादव, २१ वर्षीय कृष्ण यादव, जनकपुरधाम–४ घर भई वडा नम्बर–७ मा डेरा लिई बस्दै आएका २५ वर्षीय सन्तोष कुमार, औरही गाउँपालिका–२ पौडेश्वर घर भई क्षिरेश्वरनाथ नगरपालिका–३ महेन्द्रनगरमा डेरा लिई बस्दै आएका २१ वर्षीय किरण भन्ने प्रमिला महरा र २७ वर्षीय बिगुल मुखिया विन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।



असार २० गतेदेखि जनकपुरधाम–७ बाट बेपत्ता भएका १८ वर्षीय अजय भन्ने अर्जुन साहको शव २३ असारमा महोत्तरीको लोहारपट्टी–८ भगवानपुर चौरस्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडक खण्डमा बाटोको पश्चिम साईडमा फेला परेको थियो ।

अर्जुन साथीहरुसँग अटो रिक्सामा बसेर पिकनिक गएका थिए ।



  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १८:४१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया