बाजुराको कोल्टीले नाफा कमाउँदा बझाङ र बैतडी विमानस्थल लाखौँ घाटामा

आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिमका तीन पहाडी जिल्ला बाजुरा, बझाङ र बैतडीका विमानस्थलमध्ये एउटा नाफामा र दुइटा घाटामा रहेका छन् । 

बाजुराको कोल्टी विमानस्थलले १२ लाख बढी नाफा कमाउँदा बझाङको देवल विमानस्थल र बैतडीको विमानस्थल घाटामा रहेको पाइएको हो ।  

ठूलो लगानीमा निर्माण भएका नेपालका अधिकांश हवाई पूर्वाधारमध्ये बाजुराको कोल्टी विमानस्थलको कुल नाफा १२ लाख ३५ हजार रहेको छ । नेपालमा बनेका ५३ वटा विमानस्थलमध्ये करिब दुई तिहाई विमानस्थल घाटा वा बन्द अवस्थामा रहेका भए पनि बाजुराको कोल्टी विमानस्थलले नाफा कमाएको हो । कोल्टी विमानस्थलले ५० लाख ५६ हजार आम्दानी गरेको छ भने ३८ लाख २१ हजार खर्च गरेको छ ।

यता, बझाङको देवल विमानस्थल र बैतडीको विमानस्थलले भने घाटा व्यहोरेका छन् । १० लाख ६३ हजार आम्दानी भएको देवल विमानस्थलमा १२ लाख ८ हजार खर्च भएको छ । अहिले देवल विमानस्थल १ लाख ४५ हजार घाटामा रहेको जनाइएको छ । 

उता, बैतडीको विमानस्थलले ५५ हजार मात्रै आम्दानी भएको जनाएको छ । ७ लाख ४६ हजार खर्च गरेको छ । विमानस्थल ६ लाख ९१ हजार घाटामा रहेको जनाइएको छ ।

हाल नेपालमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी ५३ वटा विमानस्थल छन् । त्रिभुवन विमानस्थल र गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय हुन् । यसबाहेक ५१ वटा विमानस्थल आन्तरिकतर्फ प्रयोग गर्ने लक्ष्यसहित निर्माण भएका हुन् ।



तर, आर्थिक वर्ष २०७८/७९ मा सञ्चालनमा रहेका ३४ वटा आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलमध्ये १८ वटा नाफामा छन् । बाँकी १६ वटा विमानस्थल भने घाटामा सञ्चालन भइरहेका छन् । यस्तै, बाँकी १९ वटा विमानस्थल वर्षौँदेखि घाँसे मैदानमा परिणत भएर बेवारिसे अवस्थामा छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार हिमाली र तराई भेगका र अन्तर्राष्ट्रिय उडान भर्ने दुइटा विमानस्थल गरी १८ वटा नाफामा छन् । 



क्यानका प्रवक्ता जगन्नाथ निरौलाले तराई र उच्च हिमाली (पर्यटकीय गन्तव्य) क्षेत्रमा रहेका विमानस्थल मात्रै नाफामा रहेको बताए ।

‘तराईका अधिकांश विमानस्थल नाफामा सञ्चालन भइरहेका छन् । यस्तै, हिमाली क्षेत्रका विमानस्थल समेत केही विमानस्थल नाफामा छन्,’ क्यानका प्रवक्ता निरौलाले भने, ‘तर, पहाडी क्षेत्रमा सञ्चालनमा रहेका विमानस्थल भने घाटामा रहेका छन् ।’ 

सञ्चालनमा रहेका ३४ मध्ये १६ विमानस्थल घाटामा रहे पनि समग्र विमानस्थलको हिसाबकिताब गर्दा नाफामा रहेको निरौलाले बताए ।

  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार २०:३४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया