खोजी हुनै छोड्यो घरमै बनेको जनै
फरकधार / २७ साउन, २०७९

मकवानपुरको मनहरी गाउँपालिका ४ ट्वाङ्ग्राका ८९ वर्षका गंगाबहादुर खड्काले झण्डै एक साता लगाएर जनै बनाए । खासमा उनले आज जनै पूर्णिमाको लागि जनै तयारी गरेका हुन् । हेटौंडा बजारबाट जनै बनाउने धागो किनेर घरमा आफैले जनै बनाएर तयारी गरेका गंगाबहादुरको घाँटीमा अहिलेसम्म उद्योगमा बनेका जनै परेको छैन ।

उनको व्रतबन्ध गरेदेखि नै उनका हजुरबुवा र बुवाले बनाएका जनै लगाउँदै आएका खड्का अहिले पनि आफै बनाएर आफ्ना ज्वाइँ र छोरा नानीहरूलाई लगाइदिने गरेका छन् । केही वर्ष अघि सम्म उनले बनाएका जनै गाउँका केही मानिसहरूले किनेर लिने पनि गरेका थिए । आफ्ना घरको लागि ५०/६० जोर जनै बनाएर अलिअलि छिमेकीका लागि सम्म बाँड्ने गरेका थिए खड्काले । 

तर पछिल्लो समय उद्योगहरूले उत्पादन गरेर बनाएको रेडिमेड जनैले बजार ढाकेपछि गाउँमा बूढापाकाको हातले मेहनत गरेर बनाइएका जनैको महत्त्व घटेको खड्का बताउँछन् । ‘मैलै जनै लगाउन थालेदेखि कहिल्यै किनेको जनै लगाएको छैन । काँचो धागो किनेर ल्याएर आफै बनाउँछु । आफू पनि त्यही लगाउँछु । छोरा नातिहरूले पनि घरमै बनाएको जनै लगाउँछन्,’ उनले भने ।



किनेको जनै भन्दा बनाएको जनै राम्रो र लामो हुने भए पनि महँगो पर्न जाने उनी बताउँछन् । फाइदाको लागि नभए पनि आत्मा सन्तुष्टिको लागि आफैले जनै बनाउने गरेको बताउँदै खड्काले भने, ‘धागो कै पाउको ३ सय देखि ३ सय ५० रुपैयाँ सम्म पर्छ । एक पाउ धागोले ६० देखि ६५ वटा मात्रै जनै बन्छ । बजारमा ४ रुपैयाँको एउटा जनै पाइन्छ भन्दै थियो मेरो छोराले । फाइदा त धागो किन्नु को साटो रेडिमेट जनै किन्नु मै रहिछ । तर पनि आफ्नो ज्यान रहुञ्जेल र हात गोडा चलुञ्जेल आफै बनाउँछु भनेर हो ।’ 



बीस वर्ष देखि निरन्तर जनै बनाउँदै आएका गंगाबहादुरले जनै बनाउन भने उनका बुवा जुद्धबहादुरले सिकाएका थिए । ती दिन सम्झिदै खड्काले भने, ‘उ बेला किन्ने भन्ने चलन हुन्न थ्यो । कि बाहुनले ल्याउँथे । अनि त्यही अनुसारको दक्षिणा दिएर किनिन्थ्यो । कि त आफैले यसरी बनाएर नै लाउने चलन थियो । आउनेले बनाएर बनाउन नआउनेलाई पनि दिन्थे । तर अब बनाउने भन्दा बनिराखेकै किन्नेको जमात बढेको छ । मेरो बुवाबाट मैले जानेको भएर अहिलेसम्म म बनाएर लगाउने गर्छु । मेरा छोरा नातिलाई बनाउन आउँदैन । मेरा शेखा पछि यिनले पनि किनेरै त लाउलान् नी ।’

हराउँदै परम्परा
पहिले-पहिले हातले बनाइएका जनै मात्रै लगाउने चलन थियो । जसअनुसार घरका सबै छोरा मान्छेहरूले धागोबाट जनै बनाउन जान्दथे । तर पछिल्लो समय हातले बनाइएका जनैको महत्त्व हराउँदै गएको छ । बूढापाकाले बनाए लगाउने नत्र बजारमा बेच्न राखिएका सस्ता जनैले नै परम्परा धान्ने चलन भित्रिए पछि जनै बनाउने परम्परा मासिँदै गएको छ । 

हेटौंडा १ लालझाडीका ५१ वर्षका हरिप्रसाद सन्जेल पनि हरेक वर्षको जनै पूर्णिमाको लागि आफै जनै बनाउँदै आएका थिए । तर यो पटक उनको शारीरिक अवस्थाको कारण सधैँ को जसरी जनै बनाउन सकेनन् । जनै बनाउन नसकेपछि उनका छोराहरूले यो वर्षको जनै पूर्णिमाको लागि बजारको रेडिमेड जनैकै जोहो गरेका छन् । 

आफूले जाने पनि आफ्ना सन्तानले सिक्न नचाहेका कारण घरमै आफ्नो नापोमा बनाइएको जनै लगाउन नपाइएको बताउँदै उनले भने, ‘यस्ता कुराहरूमा नयाँ पुस्ताहरूको ध्यान छैन । छिटो पनि सस्तो पनि हुने भएपछि पोहोर देखि नै रेडिमेड ल्याउन भनिरहेका थिए । तर म आफैले बनाउने भएका कारण यो भन्दा अघि कहिल्यै किनेको थिएनौँ । अबका मान्छेहरूले लगाउन त छोडिसके बनाउन त झन् के आउँथ्यो र । पैसा भए सबै बजारमै पाइन्छ । परम्परा धान्ने चलन बिस्तारै हराउँदै गइसक्यो । 

जनै पूर्णिमाको महत्त्व
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षा बन्धन (डोरा) बाँधेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षा सूत्र) धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षा बन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने गर्दछन् ।  

  • प्रकाशित मिति : साउन २७, २०७९ शुक्रबार ८:१३:५०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया