पर्यटकीय गन्तव्य दूधपोखरीमा जनै पूर्णिमाको अवसरमा नुहाउन आउने भक्तजनको घुइँचो लागेको छ । दूधपोखरीमा नुहाएर पुण्य कमाउने र मोक्ष प्राप्त हुने विश्वासका साथ सयौँ तीर्थयात्रीहरू दूध पोखरी कुण्ड नुहाउन पुगेका हुन् ।
दूध पोखरी गाउँपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय महत्त्वको दूध पोखरी समुद्री सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा छ । मनास्लु र हिमालचुली हिमालको काखमा रहेको यो धार्मिक स्थलमा हरेक वर्ष जनै पूर्णिमामा भक्तजनहरूको घुइँचो लाग्ने गर्छ ।
हिमालको काखमा तीन चार दिनको कठिन यात्रापछि पुग्न सकिने दूध पोखरी धाम लमजुङको मात्र नभई देशकै पवित्र तीर्थस्थल मध्ये एक हो । देवादि देव महादेवको वासस्थानको रूपमा परिचित यो कुण्डमा जनै पूर्णिमाका दिन नुहाए सम्पूर्ण पाप नष्ट भई मोक्ष प्राप्त हुने र पितृलाई तर्पण दिए पितृ ऋणबाट मुक्त भइने धार्मिक विश्वास रहँदै आएको छ ।
लमजुङ गोरखा, तनहुँ, कास्की, चितवन र काठमाडौँ देखिएका तीर्थालु भक्तजनहरू यस पोखरीमा नुहाउन पुग्ने गर्दछन् । यस पोखरीमा गएर नुहाउनेलाई भारतको काशी जान नपर्ने जनविश्वास रहेको सर्वोदय ज्येष्ठ नागरिक सेवा आश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलिया बताउँछन् ।
लमजुङ र गोरखाको सिमानाको रूपमा बगेको चेपे नदीको मुहान दूधपोखरीले ऐतिहासिक धार्मिक तथा पर्यटकीय महत्त्वलाई बोकेको छ । तर यसको संरक्षणमा भने कुनै पनि निकायले चासो नदिएको दूध पोखरीका स्थानीय गोविन्द दवाडी बताउँछन् ।
पर्यटकीय महत्त्व बोकेको दूधपोखरीका संरक्षणसँगै प्रचारप्रसार गर्न सकेमा लमजुङ जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने पर्यटन व्यवसायी रामकुमार श्रेष्ठ बताउँछन् ।
उच्च हिमाली क्षेत्रमा पर्ने र मानव बस्तीबाट निकै टाढा रहेको दूधपोखरीको यात्रा कठिन भए पनि मनोरम प्राकृतिक दृश्यावलोकन गर्दै जाँदा प्राकृतिक सुन्दरताले बाटो कटेको पत्तै नहुने दूध पोखरीको यात्रा गर्नेहरूको भनाई छ । धेरै उचाइमा रहेकाले त्यहाँ लेक लाग्ने समस्या हुन्छ भने मोटोपन, स्वास्थ्य समस्या भएका व्यक्ति, वृद्ध र बालकहरूका लागि दूध पोखरी यात्रा कठिन हुने स्थानीयहरू बताउँछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।