मकवानपुरका ५१ वर्षीय शिवप्रसाद खनाल केही दिनअघि मात्रै कक्षा ११ मा भर्ना भए । शैक्षिकसत्र २०७९/०८० का लागि ११ मा भर्ना भएका खनालको यतिबेला जिल्लामा निकै चर्चा छ ।
उनको चर्चा चुलिनुको कारण ५१ वर्षको उमेरमा कक्षा ११ मा भर्ना हुनु मात्रै होइन । वडाध्यक्ष भएका पछि पुनः पढाइ सुरु गरेका कारण उनको चर्चा-परिचर्चा भइरहेको हो ।
मकवानपुरको मनहरी गाउँपालिका-१ का वडाध्यक्ष खनाल दोस्रो कार्यकालका लागि निर्वाचित वडाअध्यक्ष हुन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी हाँसिल गरेर पाँच वर्ष कार्यकाल सम्हालिसकेका उनी गत ३० वैशाखको स्थानीय तहको निर्वाचनमा समेत वडाध्यक्षमा नै निर्वाचित भएका हुन् ।
खनाल आइतबार वडामै रहेको श्री बाल जीवन ज्योति माविमा शिक्षा संकायतर्फ कक्षा ११ मा भर्ना भएका हन् ।
राजनीतिक जीवनदेखि हरेक पाइला/पाइलामा पढाइको सर्टिफिकेटको आवश्यकता पर्ने बताउँदै शिक्षाकै कारण अबका दिनमा पनि विभिन्न अवसरबाट वञ्चित हुन नपरोस् भनेर कक्षा ११ मा भर्ना गरेको खनाल बताउँछन् ।
२० वर्षको उमेरमा औपचारिक शिक्षा एसएलसी उत्तीर्ण खनाल ३१ वर्षपछि उच्च शिक्षा अध्ययन गर्न लागेका हन् । उनले २०४८ सालमा सिद्धेश्वर संस्कृत विद्यालय कलैयाबाट द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए ।
उमेरले ५१ वर्ष लागेका उनलाई उमेरको हदले पढाइ नछेक्नेमा ढुक्क छन् । ‘पाँच वर्ष वडाध्यक्षको जिम्मेवारी सम्हालियो । यो अवधिमा धेरै समस्याको सामना गर्नुपर्यो । त्यसमध्येको सबैभन्दा पीडादायी समस्या मेरो लागि पढाइ नै बन्यो,’ उनले भने ।
अवसर आउँदा अन्य कुरामा पनि योग्य भए पनि पढाइ कम भएकै कारण आफूलाई आफूले नपाएर अरूले नै अवसर पाएको स्मरण गर्दै उनले भने, ‘यस्ता समस्या निकै भोगियो । त्यै बेलामा पनि पढिन्थ्यो होला । तर कामलाई प्राथमिकता दिएर शिक्षालाई पर राखेँ । अब भने कामलाई दोस्रो प्राथमिकतामा राखेर भए पनि पढाइ पूरा गर्छु भन्ने अठोट लिएको छु । बरु कार्यबाहक राख्न परे पनि त्यो व्यवस्थापन मिलाउनु पर्ला । तर पढाइ भने छोड्दिनँ ।’
अब विद्यार्थीसँगै बेञ्चमा बसेर नै पढ्नुहुन्छ कि परीक्षामा मात्रै सहभागी हुने हो भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘विद्यार्थीसँगै बसेर पढ्न लाज मान्दिनँ । दिउँसोको मात्रै कक्षा सञ्चालन हुने हुँदा केही व्यवस्थापन गर्नुपर्ने छ । म यसरी विद्यार्थीसँगै पढ्न आएँ भने शिक्षाबाट वञ्चित हुन परेका थुप्रै छोरी, बुहारीदेखि दाजुभाइमा पनि पढ्नुपर्ने रै'छ भन्ने सोच आउँछ की भन्ने आश पनि छ । सुरुवात मबाट भए तापनि यसमा धेरै जना सहभागी गराउने पनि इच्छा हो । त्यसैले आफैँले पढ्नका लागि पनि विद्यालयमा नै गएर कक्षामै बसेर पढ्छु । अनि गाउँका नागरिकले पनि शिक्षाको महत्त्व बुझून् भन्नका लागि पनि विद्यालय जान्छु ।’
राजनीति गरेर समाज सुधान गर्नका निम्ति शिक्षा सबैभन्दा आवश्यक रहेकोले आफूले विद्यालयमा भर्ना गरेको उनको भनाइ छ । उनी सोही विद्यालयको व्यवस्थापन समिति अध्यक्षसमेत हुन् भने नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष हन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।