धर्मपुत्रीमाथि बलात्कारको आरोप लागेका प्रेमराजा पक्राउ परे
मिलापत्र गराउनेबारे अनिर्णित प्रहरी प्रशासन

जुम्लामा धर्मपुत्रीको रूपमा राखेकी १३ वर्षीया बालिकामाथि बलात्कारको आरोप लागेका व्यक्ति पक्राउ परेका छन् । आरोपित प्रेमराजा भनिने प्रेमजंग महतलाई जुम्ला प्रहरीले नियन्त्रणमा लिएको हो । 

जाजरकोट स्थायी घर भएर आमासँग जुम्ला सदरमुकाम खलंगा आएकी १३ नाबालिकामाथि चन्दननाथ नगरपालिका–७ निवासी महतले एक महिनासम्म पटकपटक जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ । नाबालिकालाई महतले छोरीका रूपमा घरमा राखेर पढाइ दिने आश्वासन दिएर आफ्नो घरमा राखेका थिए । 

जबरजस्ती करणी गरेको घटना बाहिर आएपछि ७ लाख रुपैयाँको लेनदेनमा मिलापत्र गरिएको छ । स्रोतका अनुसार सामुदायिक प्रहरी केन्द्रमा कार्यरत एक स्थानीय, एकजना अधिवक्ता, मानवअधिकार आयोगमा कार्यरत सुरक्षा गार्ड, एक होटल व्यवसायी महिलालगायतका व्यक्तिको रोहवरमा ७ लाखमा मिलापत्र गरिएको हो ।

मिलापत्रमा जबरजस्ती करणीको घटनाबारे कतै केही उल्लेख छैन । मिलापत्रमा बालिकालाई पठनपाठन सहयोगका लागि भनेर रकम दिइएको कागज बनाइएको छ । बालिकालाई महतले पढाइदिने र घरायसी कामका लागि छोरी (धर्मपुत्री) बनाएर राख्ने बालिकाकी आमासँग सहमति गरी घरमा लगिएको बुझिएको छ । आमाले दोस्रो बिहे गरेकाले उनी पनि जुम्ला आएकी थिइन् । उनकी आमाले पसल चलाउँदै आएकी छन् ।

महतले जबरजस्ती करणी गरेको कुरा अरूसँग नभन्न र सबैका अगाडि ‘बाबा’ भन्ने राति आफूलाई श्रीमान् स्वीकार्न दबाब दिने गरेको ती पीडित बालिकाले बताएकी छन् । महतले आफूलाई जबरजस्ती करणी गर्ने र अरूसँग भने मारिदिन्छु भन्ने धम्की दिन थालेपछि नाबालिकाले मुसा मार्न प्रयोग हुने विष पनि खाएको बुझिएका छ । 

जबरजस्ती करणी गर्ने महतका दाजु सामुदायिक प्रहरी केन्द्रमा कार्यरत छन् । उनीलगायतका व्यक्तिको रोहवरमा ७ लाखमा घटना सामसुम पार्न मिलापत्र गरिएको पीडित पक्षको आरोप छ । 



मिलापत्र गरेको कागजातमा कालीबहादुर भण्डारी (वडा सदस्य) चन्दननाथ नपा ५, जीवन महत, चन्दननाथ–४ का नवराज भारती, तातोपानी गापा–८ का ईश्वरी आरसी, कागज बनाउन सहयोग गर्ने अधिवक्ता दिलबहादुर महत र चन्दनाथ–७ का महेन्द्रबहादुर महत छन् । 

मुलुकी अपराध संहिता, मुलुकी अपराध कार्यविधि अनुसार बलात्कारको घटना मिलाउनु कानुन विपरीत हो । बलात्कारका घटनामा मिलापत्र गराउनेलाई समेत ६ महिनादेखि ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । मिलापत्र गराउने व्यक्ति सार्वजनिक पद धारण गरेको भए थप ६ महिना कैद हुने उल्लेख छ । 



मुलुकी अपराध संहिताअनुसार मिलापत्र गराउनेलाई समेत कानुनी दायरामा ल्याउनु पर्ने भए पनि प्रहरीले उनीहरूलाई पक्राउ गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय जुम्लाको डीएसपी नरेन्द्र चन्दले अभियुक्तलाई शनिबार साझ पक्राउ गरेको जानकारी दिए । तर, मिलापत्र गराउने व्यक्तिलाई भने नियन्त्रणमा नलिएको उनको भनाइ छ । उनी भन्छन्, ‘आरोपितलाई नियन्त्रणमा लिएका छौँ । अरूलाई के गर्ने भन्ने अनुसन्धान गर्दैगर्दा थप निर्णय लिन सकिन्छ ।’
 
पीडित बालिका चन्दननाथ नमुना माध्यमिक विद्यालयको कक्षा ४ मा पढ्थिन् । सोही विद्यालयकी शिक्षक बबी केसी भन्छिन्, ‘ती बालिका सुरुमा स्कुल आउँदा पढाइमा जागरुक थिइन् । केही समयपछि भने उनी विद्यालय आउँदा टोलाएर बस्ने गरेको देखेँ । मैले चासो दिएर सोधेँ । उनी बेस्सरी रुन थालिन् ।’

सोध्दै जाँदा बालिकाले आफूमाथि जबरजस्ती करणी भएको बताएकी केसीले बताइन् । घटनापछि विद्यालयमा अभिभावक भेला बोलाएर यो विषयमा छलफल भएको थियो । ‘बालिकाकी आमासमेत आइन् । उनलाई मैले नराम्ररी झपारेँ’, शिक्षक केसीले भनिन्, ‘बालिकाकी आमालाई कानुनी रूपमा जान सुझाएकी थिएँ । तर, उनी पैसा लिएर मिलापत्र गरेको खबर सुन्न आएको छ ।’

जुम्लामा धर्मपुत्रीमाथि बलात्कार, ७ लाखको लेनदेनमा घटना मिलापत्र

  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १६:५४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया